Saturday, April 18, 2026
Zenith Migration Education
Saturday, April 18, 2026

‘छ महिनामा ६ लाख नेपाली रोजगारीका लागि विदेशिए’

Zenith Migration Education

काठमाडौँ। पछिल्लो ६ महिनामा झन्डै ६ लाख नेपाली कामको खोजिमा विदेशिएका छन् । मुलुकमा आम निर्वाचन घोषणा भएर देश चुनावमय बनिरहेपनि विदेशिने क्रम बढिरहेको छ ।

वैदेशिक रोजगार विभागको पछिल्लो तथ्याङ्क अनुसार चालु आर्थिक वर्ष २०८२/८३ को साउनदेखि पुस मसान्तसम्ममा पाँच लाख ९० हजार सात सय १८ जनाले श्रम स्वीकृति लिएर विदेशीएका छन् ।

तथ्याङ्क अनुसार जसमा एक लाख ९६ हजार ४२ जनाले पुनः श्रम स्वीकृति लिएका छन् । जसमा चार हजार ८ सय ६६ जना जीटुजीमार्फत इजरायल, कोरिया तथा बेलायत गएका छन् । व्यक्तिगत श्रम स्वीकृति लिएर ६४ हजार दुई सय ६२ जना तथा तीन लाख २५ हजार चार सय सात जना म्यानपावर कम्पनीमार्फत गएको वैदेशिक रोजगार विभागको तथ्याङ्कमा उल्लेख छ ।

चाडपर्वपछि विदेश जाने क्रम तीव्र हुने गरेको र नयाँ वर्ष तथा निर्माण तथा सेवा क्षेत्रको माग बढ्ने समयमा यो सङ्ख्या अझै बढ्नसक्ने अनुमान गरिएको छ । गन्तव्य मुलुकको हिसावले खाडी मुलुकहरू, मलेसिया र पछिल्ला वर्षहरूमा जापान, दक्षिण कोरिया तथा युरोपेली देशहरू पनि नेपाली श्रमिकका प्रमुख गन्तव्य बन्दै गएका छन् । खाडी र मलेसियामा अझै पनि अदक्ष र अर्धदक्ष श्रमिकको माग उच्च रहेको छ भने जापान र कोरियातर्फ भाषा तथा सीपयुक्त श्रमिकको आकर्षण बढिरहेको छ ।

पाँच हजार सात सय ठगीका उजुरी
नेपालीहरु विदेशिने क्रम बढेसँगै चालु आर्थिक वर्षको समीक्षा अवधीमा नेपालीहरु ठगीने क्रम पनि बढिरहेको छ । विभागले सार्वजनिक गरेको अर्धवार्षिक प्रगति विवरणकाअनुसार आव २०८२/८३ को साउनदेखि पुस मसान्तसम्म वैदेशिक रोजगारसँग सम्बन्धित पाँच हजार ७६६ वटा उजुरी दर्ता भएका छन् ।

विभागमा परेका उजुरीमध्ये उद्धार, राहत तथा समन्वय शाखामा ५६८, प्रहरी शाखामा दुई हजार ६३७ र मुद्दा अनुसन्धान शाखामा दुई हजार ५६१ वटा रहेका छन् । राहत तथा उद्धार शाखामा म्यानपावर कम्पनीका उजुरी दर्ता हुन्छन् भने मुद्दा र प्रहरी शाखामा व्यक्तिगत ठगीका उजुरी दर्ता हुन्छन् । विभागमा यस अवधिमा परेका उजुरीमध्ये ९०।१५ प्रतिशत व्यक्तिगत र ९.८५ प्रतिशत म्यानपावरका उजुरी छन् ।

गत आर्थिक वर्ष २०८१/८२ को १२ महिनामा करिव पाँच हजार उजुरी परेका थिए । जसमा करिब ९० प्रतिशत व्यक्तिगत ठगीका उजुरी थिए । अघिल्लो आवमा परेकाभन्दा बढी उजुरी यस वर्षको छ महिनामै परेका छन् । रोजगारीमा जानेहरुको सङ्ख्या बढ्नु, युवाहरु युरोप रोजगारी प्रलोभनमा पर्नु, सामाजिक सञ्जालमा आउने अनधिकृत विज्ञापनका कारण नेपालीहरु ठगिने क्रम बढिरहेको विभागका अधिकारीहरु बताउछन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु