Monday, April 20, 2026
Zenith Migration Education
Monday, April 20, 2026

निर्वाचन स्वच्छ र निष्पक्ष भए हाम्रो पार्टी निर्वाचनमा पहिलो बन्छ : प्रचण्ड

Zenith Migration Education

काठमाडौँ । क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाललगायत विभिन्न राजनीतिक दल परित्याग गर्दै काभ्रेपलाञ्चोकसहित विभिन्न जिल्लाका ५२ जना युवा नेपाली कम्युनिष्ट पार्टी (नेकपा) मा प्रवेश गरेका छन् ।

प्रतिनिधि सभा निर्वाचन २०८२ मा काभ्रेपलाञ्चोक क्षेत्र नं. १ का प्रतिनिधि सभा उम्मेदवार सूर्य मान तामाङ ‘दोङ’को पहलमा उनीहरू शनिबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित कार्यक्रममा पार्टीमा प्रवेश गरेका हुन् । पार्टी संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले खादा र माला लगाएर नवप्रवेशी युवाहरूलाई स्वागत गरे ।

पार्टी प्रवेश गर्ने क्रममा क्रान्तिकारी कम्युनिष्ट पार्टीका बागमती प्रदेश कमिटी सदस्यले आफूहरू वैचारिक स्पष्टतासहित राजनीतिमा सक्रिय रहेको उल्लेख गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लगायत अन्य दलबाट प्रस्ताव आए पनि नेपाली कम्युनिष्ट पार्टी र यसको नेतृत्वप्रति प्रतिबद्ध भई गोलबद्ध भएको बताए ।

नवप्रवेशीहरूलाई स्वागत गर्दै पार्टी संयोजक प्रचण्डले देश वर्तमान सङ्कटबाट मुक्त गराउन नेपाली कम्युनिष्ट पार्टीलाई बलियो राष्ट्रिय शक्तिका रूपमा स्थापित गर्नुपर्ने आवश्यकता औँल्याए । उनले पछिल्लो समय क्रान्तिकारी कम्युनिष्टसहित एमालेलगायत विभिन्न वामपन्थी दलबाट नेकपामा प्रवेश गर्ने क्रम तीव्र रूपमा बढेको बताए ।

चुनावका क्रममा हुने आर्थिक तथा अन्य प्रकारका चलखेल रोक्न सकिए आगामी निर्वाचनमा नेपाली कम्युनिष्ट पार्टी पहिलो शक्ति बन्ने सम्भावना प्रबल रहेको उनको भनाइ थियो ।

“निर्वाचन स्वच्छ र निष्पक्ष बनाउन सकियो भने आगामी निर्वाचनमा पहिलो पार्टी नेपाली कम्युनिष्ट पार्टी बन्न सक्छ,” प्रचण्डले भने, “कमरेडहरू, अगाडि बढौँ। यो पार्टीलाई बलियो बनाएर मात्र राष्ट्र र जनताको हित सुनिश्चित गर्न सकिन्छ । जनवादी क्रान्तिपछि अब समाजवादी क्रान्तिका लागि हामी सबै एकजुट भएर अघि बढ्नुपर्छ ।”

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु