सिड्नी (अष्ट्रेलिया) । अष्ट्रेलियाको सबैभन्दा ठूलो दौड प्रतियोगिता सिड्नी म्याराथन २०२५ सम्पन्न भएको छ । करिब ३५ हजारभन्दा बढी धावक सहभागी भएको यस प्रतिस्पर्धामा नेपाल, अष्ट्रेलिया, बेलायत, अमेरिका र जापानलगायत देशका धावकहरुको सहभागिता रहेको थियो ।
आइतबार सम्पन्न भएको म्याराथनमा ५० भन्दा बढी नेपाली धावकहरूको सहभागिता थियो भने यो अन्तर्राष्ट्रिय म्याराथनमा अहिलेसम्मकै सबैभन्दा धेरै नेपालीहरूको उपस्थिति रहेको मानिएको छ ।
नेपाली मूलका धावक विकास श्रेष्ठले ४२.२ किलोमिटर दूरी २ घण्टा ५५ मिनेटमा पूरा गर्दै उत्कृष्ट नतिजा हासिल गरे भने बेलायत निवासी सन्तोष राईले सोही दूरी २ घण्टा ५७ मिनेट ५६ सेकेन्डमा पार गरी गरेका थिए । नेपालबाट विशेष रूपमा सहभागी भएका रामकृष्ण महर्जनसहित तीन धावकले पनि प्रतिस्पर्धामा सक्रिय सहभागिता जनाए ।
प्रतियोगिता पश्चात नेपाली समुदायको तर्फबाट नर्थवेष्ट नेपाली कम्युनिटीले विशेष स्वागत तथा सम्मान कार्यक्रमको आयोजना गरिएको थियो । कार्यक्रममा सम्पूर्ण धावकलाई नेपाली झण्डा अङ्कित खादा ओढाएर सम्मान गरिएको थियो । यस अवसरमा अध्यक्ष बिकेन्द्र अधिकारीले धावकहरूको साहस र उपलब्धिलाई नेपाली समुदायकै साझा गौरवका रूपमा व्याख्या गर्दै निरन्तर स्वास्थ्य, खेलकुद र समुदायप्रतिको योगदानलाई प्रेरणादायी बताए ।
यस वर्षको म्याराथनमा पुरुषतर्फ एथियोपियाका Hailemaryam Kiros ले २ः०६ः०६ समयमा दूरी पूरा गरी विजेता बने भने महिलातर्फ डच धाविका Sifan Hassan ले २ः१८ः२२ समयमा दूरी पार गर्दै नयाँ कीर्तिमान कायम गरे ।
सिड्नी म्याराथन २०२५ यसपटक पहिलोपटक औपचारिक रूपमा विश्वकै प्रतिष्ठित World Marathon Majors मा सूचीकृत भएको छ, जसले सिड्नीलाई मात्र होइन, यसमा सहभागिता जनाउने सम्पूर्ण समुदायलाई अन्तर्राष्ट्रिय स्तरमा गौरव दिलाएको छ । नेपाली धावकहरूको सक्रिय उपस्थिति र उत्कृष्ट प्रदर्शनले यस उपलब्धिलाई अझ अर्थपूर्ण बनाएको छ ।



