नेपाल ट्युब अस्ट्रेलियाले धादिङ, बेनिघाट गाउँपालिका वडा नम्बर १० स्थित कोश्राङ आधारभूत विद्यालयका चेपाङ विद्यार्थीलाई छात्रवृत्तिसहित शैक्षिक सामग्री वितरण गरेको छ ।
असार ६ गते (शुक्रबार) नेपाल ट्युबको तर्फबाट एक्सन नेपालले शैक्षिक सामाग्री वितरण गरेको हो । विद्यालय व्यस्थापन समितिका अध्यक्ष तथा वडा सदस्य सूर्यमान चेपाङ र विद्यालयका प्राध्यानाध्यापक सुशीलराज गिरीको उपस्थितिमा छात्रवृत्तिसहित शैक्षिक सामाग्री हस्तान्तरण गरेको हो ।
आफ्नो सामाजिक सञ्जालमा २० लाख भन्दा बढी फलोअर्स पुगेको अवसरमा नेपाल ट्युबले एक्सन नेपालको सहकार्यमा छात्रवृत्ति वितरण गरेको हो ।
कक्षा पाँचसम्म अध्यापन हुँदै आएको उक्त विद्यालयमा ६३ जना विद्यार्थी छन् । जसमा ५८ जना चेपाङ समुदायका विद्यार्थी हुन् । विद्यालयका प्राध्यानाध्यापक सुशीलराज गिरीले यस सहयोगले चेपाङ समुदायको बालबालिकालाई पढाईमा सहयोग पुग्ने बताए । ‘यस विद्यालयमा कमजोर आर्थिक अवस्था भएका परिवारका बालबालिका पढन् आउँछन्,’ उनले भने, ‘यस सहयोगले चेपाङ बालबालिका पढाईबाट बञ्चित हुने छैनन् ।’

नेपाल ट्युब र एक्सन नेपालले प्रति विद्यार्थीलाई एक थान झोला, ३६ थान कापी, एक दर्जन पेन्सिल, एक थान क्याल्कुलेटर, एक थान ज्यामिती बक्स, एक दर्जन रंगिन पेन्सिल, एक थान आर्ट कापी र दुई दर्जन सिसाकलम प्रदान गरेको छ ।
‘लाखौंमा एक’ अभियान नेपाल ट्युबप्रति समर्पित लाखौं दर्शकलाई सम्मान गर्ने उत्सवको माध्यम रहेको नेपाल ट्युबका प्रधान सम्पादक सरल गुरुङले बताए । ‘नेपाल ट्युबले यही समाज र नेपाली जनताको मायाले गर्दा विदेशमा बसेर मिडिया सञ्चालन गर्न सकेका छौं । केही आम्दानी गर्न सकेका छौं,’ उनले भने, ‘त्यसैले आफूले कमाएको केही रकम दुःख र अप्ठ्यारोमा परेका नेपाली समाजलाई दिने हाम्रो उद्देश्य हो ।’ त्यतिमात्र नभई यो अभियानले प्रत्येक विद्यार्थीमा अद्वितीय क्षमता हुने र उनीहरु नै ‘लाखौंमध्ये एक’ रहेको गुरुङले सुनाए ।
नेपाल ट्युबको यो कदम सामाजिक प्रभाव, शिक्षा र समुदायसँगको सम्बन्धप्रति निरन्तर प्रतिबद्धताको प्रतिक रहेको उनले बताए । यसले डिजिटल प्लेटफर्मले वास्तविक जीवनमा परिवर्तन ल्याउन सक्ने सम्भावना राखेको उनको भनाई छ ।
नेपाल ट्युबले देश तथा विदेशमा भएका विद्यार्थीका लागि छात्रवृत्तिको अवसर प्रदान गरिरहेको छ । सन् २०२३ मा नेपाल ट्युबले अष्ट्रेलियाको टेक स्किल इस्टिच्युटसँगको सहकार्यमा ‘न्यु अबिलिटी’ छात्रवृत्ति ल्याएको थियो । जसअन्तर्गत अस्ट्रेलियामा आईटी पढिरहेका ८ जना विद्यार्थीलाई ४० हजार अस्ट्रेलियन डलर बराबरको छात्रवृत्ति प्रदान गरेको थियो ।

यसैगरी २०२४ मा नेपालका हिमाल, पहाड र तराईका ६ जना क्रिकेटरलाई छात्रवृत्ति प्रदान गरेको थियो । किक्रेट एक्सिलेन्सी सेन्टरसँगको सहकार्यमा नेपाल ट्युबले प्रोफेसनल क्रिकेट तालिमका लागि छात्रवृत्ति प्रदान गरेको हो । यति मात्र नभई नेपाल ट्युबले गत वर्ष विभिन्न परोपकारी पहलमार्फत झण्डै ३ लाख अस्ट्रेलियन डलर योगदान गरिसकेको छ ।
नेपाल ट्युब अष्ट्रेलियामा संचालित मल्टिमिडिया प्लेटफर्म हो । नेपाल ट्युबले विगत ८ वर्षदेखि देश विदेशमा रहेका नेपाल र नेपालीसंग सम्बन्धित सुचना, जानकारी र शिक्षामुलक सामाग्रीहरु प्रशारण र प्रकाशन गर्दै आईरहेको छ ।



