Saturday, July 11, 2026
Zenith Migration Education
Saturday, July 11, 2026

गणेशले आत्मदाह गर्नुपर्ने अवस्था आउनुमा बालेन नेतृत्वकै महानगर जिम्मेवार : रक्षा बम

Zenith Migration Education

काठमाडौं । नागरिक आन्दोलनमा सक्रिय जेनजी अभियन्ता रक्षा बमले आत्मदाह गरेका गणेश नेपालीको घटनाप्रति असन्तुष्टि व्यक्त गरेकी छन् ।

उनले सामाजिक सञ्जालमार्फत काठमाडौं महानगरपालिकाको कार्यशैलीमाथि प्रश्न उठाउँदै महानगर प्रहरीको व्यवहार र गरिब तथा सडक व्यवसायीप्रतिको दृष्टिकोणको आलोचना गरेकी हुन् ।

उनले बालेन शाह काठमाडौं महानगरपालिकाको मेयर बनेपछि महानगर प्रहरीमा अमानवीय, असंवेदनशील र गुण्डागर्दी प्रवृत्ति विकास भएको आरोप लगाइन् । सडक व्यापारी, गरिब तथा सुकुम्बासी समुदायमाथि महानगरको व्यवहारले उनीहरूको आत्मसम्मानमा चोट पुगेको उनको भनाइ छ ।

रक्षाले लेखेकी छन्, ‘३५ वर्षको भारी पुरानालाई बोकाउने रास्वपा समर्थक र बालेनका फ्यानबोईहरूले, बालेनलाई तीन वर्षको भारी बोकाउन अब तयार हुनुपर्छ ।’

उनले गणेशले आत्मदाह गर्नुपर्ने अवस्था आउनुमा महानगरको विगतको कार्यशैली पनि जिम्मेवार रहेको दाबी गरेकी छन् । महानगरको डोजर अभियान र नगर प्रहरीको व्यवहारले कमजोर वर्गमाथि दबाब सिर्जना गरेको उनको आरोप छ ।

उनका अनुसार बालेन शाह मेयरको चुनावी अभियानका क्रममा सडक व्यापारी व्यवस्थापन गर्ने प्रतिबद्धता लिएर आएका भए पनि महानगरको नेतृत्वमा पुगेपछि गरिबमारा शैली अपनाएको आरोप लगाइन् ।

रक्षाले विगतमा सडक व्यवसायी, सुकुम्बासी र अभियानकर्तासँग भएका विवाद उल्लेख गर्दै महानगरले मानवीय पक्षलाई बेवास्ता गरेको बताएकी छन् । उनले अदालतको हस्तक्षेपपछि मात्रै महानगरको डोजर अभियान केही नियन्त्रणमा आएको दाबी गरिन् ।

उनले गणेश नेपालीको घटनापछि पनि पीडितमाथि प्रश्न उठाउने प्रवृत्ति देखिन सक्ने भन्दै राज्य र स्थानीय तहले आफ्ना कार्यशैली सुधार गर्नुपर्ने बताएकी छन् ।

‘त्यसैले जबसम्म बालेनले आफ्नो शैली सुधार्दैनन्, उनलाई निरन्तर गल्ती दोहोर्याउन छुट दिने फ्यानबोईहरूले बालेनलाई तीन वर्षे महानगरकालीन सत्ता सञ्चालनको भारी बोकाउँदैनन्, तबसम्म यो चलिरहन्छ, गणेशहरू मरिरहन्छन् । अलविदा गणेश, धेरै सतायो यो राज्यले । अब आराम गर ।’, रक्षाले लेखेकी छन् । 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु