Thursday, May 14, 2026
Zenith Migration Education
Thursday, May 14, 2026

डिजिटल प्रविधिमार्फत ट्राफिक व्यवस्थापन गर्ने तयारी

Zenith Migration Education

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले डिजिटल प्रविधिमार्फत ट्राफिक व्यवस्थापन गर्ने तयारी गरिरहेको जनाएको छ ।

कार्यलयले ट्राफिक नियम उल्लंघन गर्नेहरूलाई सिसिटिभी निगरानीमार्फत कारबाही गर्नेगरि तयारी गरेको हो ।

परीक्षण स्वरूप कार्यलयले काठमाडौंको थापाथली क्षेत्रमा ‘फेसलेस ट्राफिक म्यानेजमेण्ट सिस्टम’ लागू गरिसकेको कार्यलयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारीले जानकारी दिए ।

कार्यलयले आइतबार आयोजना गरेको समिक्षात्मक कार्यक्रममा उनले सार्वजनिक विदाको दिन थापाथली क्षेत्रमा हाल सिसिटिभी निगरानीमार्फत नियम उल्लंघन गर्नेलाई कारबाही गर्ने गरिएको बताए ।

उनकाअनुसार ट्राफिक नियम उल्लंघन, मापसे, तीव्र गति र लेन अनुशासनविरुद्ध कार्यलयले कडा कारबाही गर्ने गरेको छ । ट्राफिक प्रहरीले लेन अनुशासन, ट्राफिक लाइट पालना, ‘ड्रिङ्क एण्ड ड्राइभ’ र ‘ड्रग्स एण्ड ड्राइभ’ नियन्त्रणलाई प्राथमिकतामा राखेको उनले बताए ।

ओभरस्पिड नियन्त्रण र सडक सुरक्षालाई केन्द्रमा राखेर काठमाडौंको ट्राफिक जामलाई व्यवस्थित गर्न ‘डेस्टिनेसन क्लियर’ प्रणाली लागू गरेको उनले जानकारी दिए ।

उनकाअनुसार सार्वजनिक यातायातलाई मर्यादित बनाउन सवारीसाधनमा सिसिटिभी, ड्यास क्यामेरा र जीपीएस अनिवार्य गरिएको छ । ती उपकरण नराख्ने सवारीलाई सञ्चालन गर्न रोक लगाउने उनले बताए ।

राइड शेयर सेवामा प्रयोग हुने मोटरसाइकलमा समेत एसओएस बटन र क्यामेरा अनिवार्य बनाउन लागिएको उनले जानकारी दिए । ट्राफिक प्रहरीले लापरवाहीपूर्वक सवारी चलाउने ३१ चालकको लाइसेन्स ६ महिनाको लागि निलम्बन गरेको छ ।

लाइसेन्स निलम्बनका लागि यातायात व्यवस्था कार्यालयले निलम्बन गरिसकेको उनले जानकारी दिए । पटक–पटक नियम उल्लंघन गर्नेलाई सजग गराउन निलम्बन गरिएको उनले बताए ।

उनले एकीकृत बसपार्क प्रणाली लागू गरी बसपार्कबाट मात्रै लामो दूरी र मझौला दूरीका सवारी साधनहरू छुट्ने व्यवस्था गरिएको पनि जानकारी दिए । जेनजी आन्दोलनमा क्षति पुगेको विभिन्न ३७ वटा ट्राफिक प्रहरी कार्यालयहरूलाई मर्मत गर्दै ट्राफिक व्यवस्थापनलाई अझ सशक्त रूपमा अगाडि बढाएको उनको भनाई छ ।

२६ करोड १९ लाख रुपैयाँभन्दा बढी राजश्व संकलन

कार्यलयका सूचना अधिकारी प्रहरी उपरीक्षक नरेशराज सुवेदीले चालु आर्थिक वर्षमा ट्राफिक प्रहरीले ३ लाख ७३ हजार ५ सय ६२ चालकलाई कारबाही गरेको जानकारी दिए ।

त्यसबाट २६ करोड १९ लाख रुपैयाँभन्दा बढी राजश्व संकलन भएको उनले बताए । सबैभन्दा बढी कारबाही मोड्न निषेध गरिएको ठाउँमा उल्लंघन गर्ने ३७ हजार ४७२, लेन अनुशासन उल्लंघन गर्ने २३ हजार ९८४, मापसेमा परेका २३ हजार ४८, तीव्र गतिमा सवारी चलाउने २३ हजार ७७२ र रातो बत्ती उल्लंघन गर्ने २८ हजार ३०८ जनामाथि कारबाही गरिएको उनले जानकारी दिए ।

यस्तै, इ–चलान प्रणालीमार्फत मात्रै ४ करोड २८ लाख रुपैयाँभन्दा बढी राजस्व संकलन भएको बताए ।

जरिवाना नतिर्ने २ लाख ६१ हजार चालकको विवरण थप कारबाहीका लागि यातायात व्यवस्था विभागमा पठाइएको उनको भनाई छ । उनकाअनुसार १८ करोड रुपैयाँभन्दा बढी कारबाहीको जरिवाना बापतको शुल्क उठ्न बाँकी रहेको छ ।

उनले भने, ‘मापसेबाट २३ हजार ४८ कारबाही भएका छन् भने लेन अनुशासन उल्लंघन गर्ने २३ हजार ९८४ कारबाहीमा परेका छन् । त्यसैगरी तीव्र गतिमा २३ हजार ७७२, रातो बत्तीमा सवारी चलाउने २८ हजार ३०८, स्वरूप परिवर्तन १ हजार ४५०, बढी भाडा लिने ८ सय ९०, लापसे १२४, यान्त्रिक अवस्था ठिक नभएको २ हजार ८३१, मोड्न निषेध गरिएको ३७ हजार ४७२, त्यसैगरी हर्न निषेध गरिएकोमा ६ हजार २५७, डबल चालक हुनुपर्नेमा सिंगल चालक मात्र पाइएको ३५० र सवारी चालक अनुमति पत्र नभइकन पनि सवारी साधन चलाउने १० हजार ४८९ वटा सवारीलाई कारबाही गरेका छौँ । जम्मा हामीले ३ लाख ७३ हजार ५ सय ६२ सवारी चालकलाई यो चालु आर्थिक वर्षमा कारबाही गरेका छौं भने त्यसबाट २६ करोड १९ लाख ३९ हजार ९७७ रुपैयाँ चाहिँ राजस्व कोषमा दाखिला भएको छ । १८ करोड रुपैयाँभन्दा बढी कारबाहीको जरिवाना बापतको शुल्क राजश्व कोषमा दाखिला नभएको पाइएको छ । हामीले यातायात व्यवस्था विभागसँग समन्वय गरेर करिब २ लाख ६१ हजार त्यस्तो जरिवाना नतिर्ने सवारी चालकहरूको विवरण यातायात व्यवस्था कार्यालयमा पठाएका छौं । यातायात व्यवस्था विभागबाट त्यस्ता सवारी चालकको सम्बन्धमा पनि थप कारबाही प्रक्रिया अघि बढिसकेको छ । इ–चलानबाट पनि हामीले कारबाही गर्दा ४ करोड ४ करोड २८ लाख ५५ हजार ७ रुपैयाँ इ–आर्थिक वर्षको अहिलेसम्म राजस्व संकलन गरेका छौँ ।’

उनले पछिल्लो समय तोकिएकोभन्दा बढी भाडा असुल्ने प्रवृत्ति बढेपछि निगरानी र कारबाही तीव्र बनाइएको पनि जानकारी दिए । पुराना तथा प्रदूषण फैलाउने सवारीसाधनमाथि यान्त्रिक परीक्षण र प्रदूषण जाँच कडाइ गरिएको उनको भनाई छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु