राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले संसदलाई स्वस्थ बहसको थलो बनाउनुपर्नेमा जोड दिँदै प्रतिपक्षको आवाजलाई कमजोर हुन नदिने प्रतिबद्धता व्यक्त गरेका छन् ।
प्रतिनिधि सभाको पहिलो बैठकलाई सम्बोधन गर्दै सभापति लामिछानेले यस्तो बताएका हुन् ।
लोकतन्त्रको रक्षाका लागि प्रतिपक्षको भूमिका महत्त्वपूर्ण हुने उनको भनाइ छ । उनले प्रतिपक्षीलाई उपेक्षा गर्दा लोकतान्त्रिक व्यवस्था कमजोर हुने भन्दै जेन–जी आन्दोलनको समेत स्मरण गराए । उनले विगतमा प्रतिपक्षी दलका नेताहरूमाथि प्रतिशोध साँध्नकै लागि कानुन संशोधन र अध्यादेश नै ल्याइएको भन्दै त्यस्ता कानुनी छिद्रहरू तत्काल सच्याउने वाचा पनि गरे ।
उनले प्रतिपक्षी दलहरूमाथि अहङ्कार र प्रतिशोधको अध्याय दोहोरिन नदिने पनि स्पष्ट पारे । उनले संसद् र सरकारको कार्यशैलीमाथि प्रश्न उठाएकै भरमा कसैको माइक नकाट्ने पनि उल्लेख गरे ।
यद्यपि सुशासनको वेग भने नरोकिने उनको दाबी छ ।



