सिड्नी — गैरआवासीय नेपाली संघ (एनआरएनए) अस्ट्रेलियाको महिला विभाग नारिनिकुञ्ज एनएसडब्लू ले आइतबार ओबर्नस्थित ग्रान्ड प्यालेस फङ्सन सेन्टरमा विविध सांस्कृतिक कार्यक्रमका साथ अन्तर्राष्ट्रिय नारी दिवस मनाएको छ।

कार्यक्रममा नेपाली संस्कृति झल्किने भेषभूषामा जेन–जी युवती तथा बालबालिकाहरूले नृत्य प्रस्तुत गरेका थिए। नेपाली परम्परागत पहिरनमा प्रस्तुत गरिएका सांस्कृतिक कार्यक्रमले विशेष आकर्षण थपेको थियो। साथै अस्ट्रेलियन युवतीहरूले प्रस्तुत गरेको आकर्षक नृत्यले कार्यक्रमलाई अझ रमाइलो बनाएको सहभागीहरूले बताएका छन्।

कलाकार जेनीसा गौतमको संयोजनमा दुवै पुस्ताका स्थानीय कलाकारहरूले नेपाली तथा अंग्रेजी गीतमा नृत्य प्रस्तुत गरेका थिए। उनीहरूको प्रस्तुति दर्शकहरूले उत्साहपूर्वक सराहना गरेका थिए।

कार्यक्रममा प्रमुख अतिथिका रूपमा न्यू साउथ वेल्स लेजिस्लेटिभ काउन्सिलकी सदस्य माननीय ज्याकी मुनरो तथा बाडिज्यदुत सन्जीव शर्मा सहभागी भएका थिए। त्यसैगरी एनआरएनए एनएसडब्लू संयोजक उषा बारिया पोखरेल, एनआरएनएका पूर्वअध्यक्ष अनिल पोखरेल, नारिनिकुञ्जकी पूर्वअध्यक्षहरू संगीता चापागाईं, अभियन्ता सन्ध्या साह, ग्रेटर सिड्नीका अध्यक्ष विष्णु हमाल, व्यवसायी तथा समाजसेवी रन्जित साह, ब्ल्याकटाउन नेपाली कम्युनिटीकी प्रकृति श्रेष्ठ, समाजसेवी हिकुपती गुरुङ, एएनजेए (ANJA) का अध्यक्ष कृष्ण तिवारी लगायत समुदायका अगुवाहरूको उपस्थिति रहेको थियो।

सो अवसरमा बोल्दै बाडिज्यदुत सन्जीव शर्माले नारी सम्मान, अधिकार र सशक्तिकरणका लागि समाजका सबै तहबाट सहकार्य आवश्यक रहेको बताए। उनले इतिहासमा महिलाले महत्वपूर्ण नेतृत्वदायी भूमिका निर्वाह गरेका उदाहरण उल्लेख गर्दै महिलाको सहभागिता र नेतृत्व अझ सशक्त बनाउनुपर्ने धारणा व्यक्त गरे।

त्यसैगरी अनिल पोखरेल, उषा बारिया पोखरेल तथा रन्जित साहले पनि मन्तव्य व्यक्त गर्दै महिलाको सम्मान र सशक्तिकरणका लागि सामूहिक प्रयास आवश्यक रहेकोमा जोड दिएका थिए।
कार्यक्रममा नारिनिकुञ्ज एनएसडब्लू की स्टेट कोर्डिनेटर आशा श्रेष्ठले आफ्नो कार्यकालको पहिलो कार्यक्रम सफल बनाउन सहयोग गर्ने सबै सहयोगी, सहभागी र प्रायोजकहरूलाई धन्यवाद दिँदै नारी सशक्तिकरणका लागि निरन्तर सक्रिय रहने प्रतिबद्धता व्यक्त गरिन्।

कार्यक्रमको सञ्चालन नारिनिकुञ्ज एनएसडब्लू की सचिव रोजा प्रधान तथा युवा अभियन्ता अजिना कार्की र सबला बस्नेतले संयुक्त रूपमा गरेका थिए। सो अवसरमा संस्थाले नेपालकी पहिलो महिला रेस्लर भगवती खड्का तथा संस्थाको अभियानलाई सहयोग गर्दै आएका समाजसेवी र सञ्चारकर्मीहरूलाई सम्मान समेत गरेको थियो।

कार्यक्रमबाट संकलित प्रायोजन सहयोग रकम विगत वर्षझैं नेपालमा रहेका अपाङ्गता भएका तथा असहाय व्यक्तिहरूको सहयोगका लागि पठाइने आयोजकले जनाएको छ। कार्यक्रममा न्युक्यासलबाट स्टेट संयोजक लक्ष्मी भण्डारीको पनि सहभागिता रहेको थियो।

उत्साहजनक सहभागितासहित सम्पन्न उक्त कार्यक्रमले नेपाली समुदायमा नारी सम्मान र सशक्तिकरणको सन्देश फैलाएको सहभागीहरूले बताएका छन्।










