Thursday, April 16, 2026
Zenith Migration Education
Thursday, April 16, 2026

नेपालले १६ युरोपेली मुलुकसँग श्रम सम्झौताको प्रस्ताव पठायो

Zenith Migration Education

काठमाडौँ । नेपाल सरकारले नेपाली श्रमिकका लागि राम्रो आयआर्जन र मानवअधिकार सुनिश्चित भएका पूर्वी युरोपेली मुलुकहरूसँग द्विपक्षीय श्रम सम्झौता विस्तार गर्ने प्रयास तीव्र पारेको छ। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले क्रोएसिया, माल्टा लगायत १६ युरोपेली मुलुकसँग श्रम सम्झौताका लागि औपचारिक प्रस्ताव पठाएको जनाएको छ।

श्रम मन्त्रालयका सहसचिव पिताम्बर घिमिरेका अनुसार सुरक्षित कार्य वातावरण र राम्रो पारिश्रमिक उपलब्ध हुने देशहरूमा नेपाली श्रमिक पठाउन गृहकार्य भइरहेको छ। उनका अनुसार १६ देशसँग औपचारिक प्रस्ताव पठाइसकिएको छ र परराष्ट्र मन्त्रालय तथा सम्बन्धित देशस्थित नेपाली दूतावासहरूले पनि आवश्यक पहल गरिरहेका छन्।

सहसचिव घिमिरेले भने, “जहाँ मानवअधिकारको सम्मान र राम्रो आम्दानीको अवसर छ, त्यस्ता मुलुकसँग नेपालले श्रम सम्झौता गर्न खोजिरहेको छ। विशेष गरी पूर्वी युरोपका १६ मुलुकसँग द्विपक्षीय श्रम सम्झौताको प्रस्ताव पठाएका छौँ। हाल रोमानिया बाहेक अन्य मुलुकसँग सम्झौता हुन सकेको छैन। यो विषय सरकारको प्राथमिकतामा छ।”

उहाँले सम्झौताको खाका र औपचारिक अनुरोधसहित प्रस्ताव पठाइएको र छिट्टै सकारात्मक परिणाम आउने अपेक्षा गरिएको बताए।

हाल पोल्याण्ड, साइप्रस, पोर्चुगल लगायतका देशमा व्यक्तिगत श्रम स्वीकृति लिएर धेरै नेपाली श्रमिक कार्यरत छन्। अब संस्थागत तथा सुरक्षित वैदेशिक रोजगारी सुनिश्चित गर्न सरकारले औपचारिक श्रम सम्झौता गर्न पहल थालेको हो।

पछिल्ला वर्षहरूमा युरोपेली मुलुकहरू नेपाली श्रमिकका लागि आकर्षक गन्तव्य बन्दै गएका छन्। तर औपचारिक श्रम सम्झौता नहुँदा ठगी, शोषण र असुरक्षाको जोखिम कायमै रहेको छ। रोमानियासँग भने केही वर्षअघि नै श्रम सम्झौता भइसकेको छ, जसलाई अन्य मुलुकसँगको सम्भावित सम्झौताका लागि उदाहरणका रूपमा हेरिएको छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु