Saturday, April 18, 2026
Zenith Migration Education
Saturday, April 18, 2026

“अहिले मर्निङ वाक नगर्नुहोस्, मस्तिष्कघात र हृदयघातको जोखिम बढ्छ”

Zenith Migration Education

काठमाडौँ । काठमाडौँ उपत्यकामा वायु प्रदूषणको स्तर खतराको बिन्दुमा पुगेको छ। लामो समयदेखि वर्षा नहुनु र जाडोयाममा हावाको बहाव कम हुनुले उपत्यकाको आकाश तुवाँलोले ढाकिएको छ। विश्वव्यापी र्‍याङ्किङमा काठमाडौं प्रदूषित सहरहरूको सूचीमा माथिल्लो स्थानमा उक्लिँदै जाँदा यसको प्रत्यक्ष असर जनस्वास्थ्यमा देखिन थालेको छ।

यसै सन्दर्भमा पुल्चोकस्थित अल्का अस्पतालकी फिजिसियन डा. रक्षा गौतमले वायु प्रदूषणले मानव स्वास्थ्यमा पारिरहेको गम्भीर असरबारे चेतावनी दिँदै विशेषगरी ‘मर्निङ वाक’ गर्दा सजगता अपनाउन आग्रह गरेकी छन् ।

काठमाडौँको बिग्रँदो हावा र स्वास्थ्य सङ्कट
पछिल्लो समय काठमाडौंको आकाश सफा देखिन छोडेको छ। घाम राम्रोसँग नलाग्ने र वरिपरि तुवाँलो लागेजस्तो देखिनु मौसमको खराबी मात्र नभई वायु प्रदूषणको डरलाग्दो रूप भएको डा. गौतम बताउछिन् । उनका अनुसार सामान्यतया एयर क्वालिटी इन्डेक्स ५० देखि १०० को बीचमा हुनुलाई स्वास्थ्यका लागि राम्रो मानिन्छ, तर काठमाडौँमा जाडो मौसममा यो सूचकांक बढेर १५० भन्दा माथि र कहिलेकाहीँ २०० सम्म पुग्ने गरेको छ।

डा. गौतम भन्छिन्, “अस्वस्थकर हावाले बालबालिका, वृद्धवृद्धा तथा श्वासप्रश्वाससम्बन्धी बिरामीलाई बढी असर गर्छ।” प्रदूषण बढ्दा श्वास फेर्न कठिनाइ हुने, खोकी लाग्ने, आँखा र घाँटी पोल्ने तथा सानो काम गर्दा पनि अत्यधिक थकाइ लाग्ने जस्ता लक्षण देखिने गरेका छन्।

जाडोको ‘मर्निङ वाक’ : स्वास्थ्यका लागि कि रोगका लागि
धेरै मानिसहरू स्वास्थ्य राम्रो बनाउन बिहान हिँड्ने (मर्निङ वाक) गर्छन्। तर डा. गौतमका अनुसार अहिलेको प्रदूषित मौसममा बिहानको हिँडाइ घातक हुन सक्छ। जाडो मौसममा रगतका धमनी स्वाभाविक रूपमा खुम्चिएका हुन्छन् र बिहानको समयमा प्रदूषणका कणहरू जमिनको सतह नजिक थुप्रिएर बसेका हुन्छन्।

“बिहानको समयमा प्रदूषण जमिनमा थुप्रिएर बसेको हुन्छ, त्यसैले सो समयमा बाहिर निस्कनु जोखिमपूर्ण हुन्छ,” उनको भनाइ छ।

प्रेसर, सुगर र मुटुका बिरामीहरू चिसो र प्रदूषणमा बिहान बाहिर निस्किँदा धमनी थप साँघुरिने र रगत सञ्चालनमा अवरोध आउने जोखिम हुन्छ, जसले मस्तिष्कघात र हृदयघातको जोखिम बढाउन सक्छ।

ओपिडीमा देखिने लक्षण
अस्पतालको ओपिडीमा आउने बिरामीहरूमा प्रदूषणको प्रत्यक्ष असर देखिन थालेको डा. गौतमको अनुभव छ। एयर क्वालिटी इन्डेक्स १७५ भन्दा माथि पुग्दा बिरामीको चाप बढ्ने गरेको छ। बिरामीहरूले लामो समयसम्म खोकी लाग्ने, टाउको दुख्ने, वाकवाकी लाग्ने र ताजगी महसुस नहुने गुनासो गर्ने गरेका छन्।

बिहान खोक्दा निस्कने खकारमा कालो कण देखिने समस्या पनि बढ्दै गएको उहाँले बताउनुभयो। दम तथा क्रोनिक अब्स्ट्रक्टिभ पल्मोनरी डिजिज भएका बिरामीहरूलाई यस मौसममा सास फेर्न निकै कष्टकर हुने गर्छ। दीर्घकालीन रूपमा यसले फोक्सोको क्यान्सर, स्ट्रोक, मधुमेह तथा मस्तिष्कसम्बन्धी रोगहरूको जोखिमसमेत बढाउन सक्छ।

जोखिम समूह र बच्ने उपाय
वायु प्रदूषणले सबैलाई असर गरे पनि बालबालिका, वृद्धवृद्धा, गर्भवती महिला र दीर्घरोगीहरू उच्च जोखिममा हुन्छन्। डा. गौतमले यो समूहलाई जाडोको समयमा विशेष सावधानी अपनाउन र सकेसम्म घरभित्रै बस्न सुझाव दिएकी छन्।

प्रदूषणबाट बच्न उहाँले दिएका सुझावहर
बिहान र साँझ अत्यधिक प्रदूषण हुने समयमा बाहिर ननिस्कने
अत्यावश्यक कामले बाहिर निस्किँदा मास्क प्रयोग गर्ने
सम्भव भए घरमा एयर प्युरिफायर प्रयोग गर्ने
समस्या देखिए चिकित्सकको सल्लाह लिने
वातावरणीय जिम्मेवारी र राज्यको दायित्व

वायु प्रदूषण स्वास्थ्य मात्र नभई वातावरणीय समस्या पनि भएकाले यसको नियन्त्रणमा व्यक्तिगत र सरकारी दुवै स्तरबाट पहल आवश्यक रहेको डा. गौतमले बताउनुभयो। घर वरपरको वातावरण स्वच्छ राख्ने, रुखबिरुवा रोप्ने, जथाभावी आगो नबाल्ने तथा सवारी साधनको प्रयोगमा सचेतता अपनाउन उनले आग्रह गरिन्।

सरकारले पनि अत्यधिक धुवाँ फाल्ने सवारी साधनलाई कडाइका साथ नियन्त्रण गर्नुपर्ने उनको सुझाव छ। वर्षा नभएसम्म र हावा नचलेसम्म काठमाडौँको प्रदूषण घट्ने सम्भावना कम भएकाले केही समय ‘मर्निङ वाक’ रोकेर भए पनि आफू र परिवारलाई सुरक्षित राख्न उनले अपिल गरेकी छन्।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु