Thursday, April 30, 2026
Zenith Migration Education
Thursday, April 30, 2026

परिवर्तन आगो लगाएर होइन, निर्माण गरेर हुन्छ : अध्यक्ष ओली

Zenith Migration Education

झापा । झापाको सुदूर दक्षिणमा रहेको गौरीगञ्जसँग नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीको आधा शताब्दीभन्दा पुरानो साइनो छ। २०२६ सालदेखि सङ्गठन विस्तारमा सक्रिय ओलीले गौरीगञ्जको बदलिँदो स्वरूपलाई ‘सेल्फी रोड’ भनेर चिनाउँदै यहाँका पूर्वाधार, सामाजिक सुरक्षा र डिजिटल पहुँचलाई समृद्धिको नमुनाका रूपमा प्रस्तुत गरेका छन् । उनले विकासलाई केवल बाटो र पुलमा सीमित नराखी शिक्षा र अन्धविश्वासविरुद्धको चेतनासँग जोडेर नयाँ बहसको सुरुवात गरेका छन् ।

हुलाकी राजमार्गः विकासको मेरुदण्ड
सांसद र प्रतिपक्षमा रहँदा मैले लेराको पुलका लागि गरेको अथक मागलाई धेरैले मजाक बनाएका थिए। तर हामीले मेचीदेखि महाकालीसम्मको हुलाकी बाटोलाई हुलाकी राजमार्गको रूपमा विकास गर्ने संकल्प गरेपछि लेराको पुल आफैं बनेको छ। हाल कन्काई र कमलाका पुलहरूमा देखिएका प्राविधिक त्रुटि सुधार गर्दै पुनर्निर्माण जारी छ। विकास कार्यमा ठेकेदार वा इन्जिनियरको कमजोरीले केही ढिलाइ भए पनि हामी काम पूरा गर्ने लक्ष्यमा दृढ छौँ।

‘सेल्फी रोड’देखि आधुनिक पुलसम्मको यात्रा
वि.सं. २०२६–२७ सालको गौरीगञ्ज र आजको गौरीगञ्जमा आकाश–पाताल फरक छ। आज यहाँका सडकहरू ‘सेल्फी रोड’ जस्तै सुन्दर बनेका छन्। पुरानो काठे पुल विस्थापित भई बम्बे चौडा जस्ता आधुनिक र पक्की पुलहरू निर्माण भएका छन्। पहिले पक्की बाटो र पुलको कल्पना पनि गार्हो थियो, तर आज ती यथार्थमा परिणत भएका छन्।

सञ्चार क्रान्ति र डिजिटल पहुँच
पहिले गाविसले एक लाइन टेलिफोनका लागि निवेदन दिनुपथ्र्यो। आज गौरीगञ्जका नागरिकका हात–हातमा मोबाइल र ४जी इन्टरनेट सेवा पुगेको छ। यस्तो ठाउँमा पुग्न सफल भएका छौँ जहाँबाट विश्वसँग जोडिन र सूचना प्राप्त गर्न सकिन्छ। विद्यालय, क्याम्पस भवनदेखि खानेपानीका ट्याङ्कीसम्म पूर्वाधारले गाउँको मुहार परिवर्तन गरेको छ।

सामाजिक सुरक्षाः राज्यको अभिभावकत्व
वि.सं. २०५१ सालमा सुरु गरिएको सामाजिक सुरक्षा भत्तालाई ४ हजारसम्म पुर्याएर ज्येष्ठ नागरिक, एकल महिला र अपाङ्गता भएका व्यक्तिलाई सम्मानजनक जीवनयापनको आधार दिएको छ। राज्यले ३७–३८ अर्ब रुपैयाँ यस क्षेत्रमा खर्च गरिरहेको छ। सडक बालबालिकामुक्त अभियान र पछाडि परेका समुदायको उत्थानका लागि निरन्तर प्रयास भइरहेको छ।

सामाजिक सद्भाव र राष्ट्रिय एकता
देश निर्माण जात, थर वा गोत्रले होइन, विचार, दृष्टिकोण र योजनाले सम्भव हुन्छ। मधेसी र पहाडीबीचको कृत्रिम विभाजन हटाएर सामाजिक न्याय र समानतामा आधारित राष्ट्रिय एकता बलियो बनाउनुपर्छ। फेसनका आधारमा होइन, सही पार्टी र नीतिका आधारमा देशलाई समृद्ध बनाउन सकिन्छ। विभाजनले होइन, एकताले मात्र विकास सम्भव छ।

गरिबी र संस्कृतिबीचको भिन्नता
गुइँठा बाल्नु, जाडोमा न्यानो कपडा नहुनु वा फुसको छाप्रोमा बस्नु हाम्रो संस्कृति होइन, यो गरिबी र पछौटेपन हो। संस्कृति जोगाउनुपर्छ तर गरिबी हटाउनुपर्छ। अब गुइँठाको साटो बिजुली र आफ्नै देशमा उत्पादन हुने ग्यास पाइपबाट घर–घर पु¥याउने दिशामा अघि बढ्नुपर्छ। बयलगाडाको युग सकिएर अब चिल्ला सडकमा गाडी दौडिने समय आएको छ।

अन्धविश्वास र सामाजिक कुरीति
हाम्रो समाजमा अझै पनि बोक्सी जस्ता अन्धविश्वास रहनु दुःखद छ। कोही पनि बोक्सी हुँदैन, यो केवल पछौटेपन र भ्रम हो। यस्ता कुप्रथालाई जरैदेखि उखाल्नुपर्छ। तन्त्र–मन्त्र र अन्धविश्वासमा अल्झिएर आधुनिक समाज अगाडि बढ्न सक्दैन। मेरो विरुद्ध कसैले तन्त्र–मन्त्र गरे पनि म डराउन्न।

शिक्षाः विकासको बलियो आधार
छोराछोरीलाई अनिवार्य रूपमा शिक्षित बनाउनु नै गरिबी निवारणको सबैभन्दा प्रभावकारी उपाय हो। आजका बालबालिकालाई डाक्टर, इन्जिनियर र वकिल बनाउन सके १५–२० वर्षमा गरिबी स्वतः हट्नेछ। निःशुल्क पाठ्यपुस्तक, खाजा र विद्यालय भवनको व्यवस्था राज्यले गरिरहेको छ, अब अभिभावकहरूले पनि छोराछोरीलाई विद्यालय पठाउने दृढ संकल्प गर्नुपर्छ।
युवा र सचेत नागरिकको दायित्व
युवाहरूले भ्रमको पछाडि लाग्नु हुँदैन। गलत सङ्गतले मानिसलाई गलत बाटोमा पु¥याउँछ। लागुपदार्थ र गाँजा जस्ता कुलतबाट युवा पुस्ता जोगिनुपर्छ। देशलाई सुन्दर र सम्पन्न बनाउन युवाको भूमिका निर्णायक हुन्छ। अधिकारको सही प्रयोग (मतदान) गरेर मात्र समृद्ध नेपालको जग बसाउन सकिन्छ।

समृद्धिको सङ्कल्प
परिवर्तन आगो लगाएर होइन, निर्माण गरेर हुन्छ। भूकम्पपछिको पुनर्निर्माण र हावाहुरी पीडितको आवास निर्माणमा हामीले विश्वमै नमूना काम गरेका छौँ। नेकपा (एमाले) ले सरकारको नेतृत्व गर्दा देशको शिर अन्तर्राष्ट्रिय स्तरमै उच्च भएको छ। समृद्ध नेपाल, सुखी नेपालीको लक्ष्यमा यहाँहरूको निरन्तर साथ रहनेछ भन्ने विश्वास लिएको छु।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु