Thursday, April 30, 2026
Zenith Migration Education
Thursday, April 30, 2026

सिड्नीको बोन्डी बिचमा हर्जोगको सन्देशः दुष्टता परास्त हुनेछ

Zenith Migration Education

सिड्नी । इजरायलका राष्ट्रपति आइज्याक हर्जोगले सोमबार सिड्नीको बोन्डी बिचमा आयोजित श्रद्धाञ्जलि समारोहमा सबै धर्मका मानिसहरू एकजुट भएर ‘दुष्टता’ लाई परास्त गर्ने बताएका छन् । उनले यहुदी पर्वका क्रममा भएको गोलीकाण्डमा ज्यान गुमाएका १५ जनाको सम्झनामा पुष्पचक्र अर्पण गर्दै उक्त अभिव्यक्ति दिएका हुन् ।

इजरायली राष्ट्र प्रमुखले अस्ट्रेलियाको यहुदी समुदायलाई सान्त्वना दिन कडा सुरक्षा व्यवस्थासहित चार दिने भ्रमण सुरु गरेका हुन् । डिसेम्बर १४ मा भएको आक्रमणमा मारिएकाहरूलाई वर्षा र खैरो आकाशमुनि श्रद्धाञ्जलि अर्पण गर्दै उनले पीडित परिवारप्रति गहिरो सहानुभूति व्यक्त गरे ।

“आतङ्क, हिंसा र घृणाको सामना गर्नुपर्दा सबै धर्मका असल मानिसहरू र सबै राष्ट्रहरूबीचको सम्बन्ध अझ बलियो हुनेछ”, हर्जोगले समुद्र तट नजिकै रहेको बोन्डी प्याभिलियन बाहिर आयोजित कार्यक्रममा भने, “हामी मिलेर यो दुष्टतालाई परास्त गर्नेछौँ ।”

उनले जेरुसेलमबाट बोन्डी बिचसम्म ‘पीडितहरूको पवित्र सम्झनामा’ दुईवटा ढुङ्गा ल्याएर राखिएको जानकारी पनि दिए ।

अक्टोबर ७, २०२३ मा हमासले इजरायलमाथि गरेको आक्रमणपछि यहुदीहरूविरुद्ध भएको सबैभन्दा घातक आक्रमणको पृष्ठभूमिमा अस्ट्रेलिया सरकारले यहुदीविरुद्ध कडा बन्दुक नियन्त्रण र घृणा अपराधसम्बन्धी कानून लागू गरेको कदमलाई हर्जोगले सकारात्मक भन्दै स्वागत गरे । उनले विश्वभर यहुदीविरोधी भावना बढ्दै गएकोप्रति चिन्ता पनि व्यक्त गरे ।

धेरै यहुदी अस्ट्रेलियालीहरूले हर्जोगको भ्रमणलाई स्वागत गरेका छन् । समुदायको शीर्ष निकाय अस्ट्रेलियन ज्युरीको कार्यकारी परिषद्का सह–प्रमुख कार्यकारी एलेक्स रिभचिनले उनको भ्रमणले शोकाकुल समुदायको मनोबल बढाउने बताए ।

तर केही यहुदी समूहले असहमति जनाएका छन् । अस्ट्रेलियाको प्रगतिशील यहुदी काउन्सिलले गाजामा भइरहेको विनाशसँग जोडेर हर्जोगलाई स्वागत नगर्ने जनाएको थियो ।

संयुक्त राष्ट्रसङ्घको स्वतन्त्र अन्तर्राष्ट्रिय अनुसन्धान आयोगले गत वर्ष हर्जोगले हमासको आक्रमणका लागि सबै प्यालेस्टिनीहरूलाई जिम्मेवार ठहर गरेको अभिव्यक्तिलाई नरसंहार उक्साउने खालको भन्दै आलोचना गरेको थियो । इजरायलले उक्त प्रतिवेदनलाई विकृत र झुटो भन्दै पूर्ण रूपमा अस्वीकार गरेको छ र निकाय खारेज गर्नुपर्ने माग गरेको छ ।

प्रधानमन्त्री एन्थोनी अल्बानिजले हर्जोगको भ्रमणको सम्मान गर्न आग्रह गर्दै आफू राष्ट्रपतिसँगै बोन्डी बिचमा पीडित परिवारसँग भेट्न जाने बताएका छन् ।

हर्जोगले आफू यहाँ असल इच्छाका साथ आएको स्पष्ट पार्दै प्रदर्शनकारीहरूले इजरायलको अस्तित्वको अधिकारलाई कमजोर पार्न खोजेको आरोप लगाए ।

न्यु साउथ वेल्स राज्य सरकारले हर्जोगको सिड्नी भ्रमणलाई प्रमुख कार्यक्रम घोषणा गर्दै प्रदर्शन नियन्त्रणका लागि प्रहरीलाई अतिरिक्त अधिकार दिएको छ ।

यद्यपि त्यसकै बीच प्यालेस्टिनी समर्थक प्रदर्शनकारीहरू सोमबार साँझ अस्ट्रेलियाका दुई ठूला सहरमा सडकमा उत्रिएका थिए । सिड्नीमा सयौँले हर्जोगमाथि कथित युद्ध अपराध र नरसंहार उक्साएको आरोप लगाउँदै छानबिनको माग छन् । मेलबर्नको केन्द्रमा पनि प्यालेस्टिनी क्षेत्रमा इजरायलको कब्जा अन्त्य गर्न माग गर्दै ठूलो भीड जम्मा भएको थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु