Tuesday, June 2, 2026
Zenith Migration Education
Tuesday, June 2, 2026

स्पेनमा १६ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जाल प्रयोगमा प्रतिबन्ध लगाइने

Zenith Migration Education

स्पेन । स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजले आफ्नो सरकारले १६ वर्षभन्दा कम उमेरका बालबालिकाका लागि सामाजिक सञ्जालको प्रयोगमा प्रतिबन्ध लगाउने घोषणा गरेका छन् । साथै, अवैध वा घृणास्पद सामग्री फैलाउने वा त्यस्ता सामग्रीलाई बढावा दिन एल्गोरिदम प्रयोग गर्ने प्लेटफर्महरूमाथि पनि नियमन कडा पारिने उनले बताए।

दुबईमा आयोजित ‘वर्ल्ड गभर्नमेन्ट समिट’लाई सम्बोधन गर्दै सान्चेजले यी उपायहरूको उद्देश्य डिजिटल प्लेटफर्मसँग जोडिएका बढ्दो जोखिमबाट नाबालिगहरूलाई सुरक्षित राख्नु रहेको बताए । उनले यी प्लेटफर्महरू युवा प्रयोगकर्ताका लागि झन्–झन् असुरक्षित बन्दै गएको उल्लेख गरे ।

स्पेन सरकारले सामाजिक सञ्जाल कम्पनीहरूको कानुनी दायित्व सुदृढ गर्न अर्को साता नयाँ विधेयक पेश गर्ने योजना बनाएको छ । सान्चेजका अनुसार यसमा अवैध सामग्री हटाउन असफल हुने वरिष्ठ अधिकारीहरूमाथि दायित्व निर्धारण गर्ने विषय पनि समावेश हुन सक्छ ।

उनले प्रविधि कम्पनीहरूलाई थप जिम्मेवार बन्न आग्रह गर्दै सरकारले अब सामाजिक सञ्जाल प्लेटफर्ममा हुने दुरुपयोगलाई बेवास्ता गर्न नसकिने बताए । स्पेनले अनलाइनमा घृणास्पद तथा ध्रुवीकरण गर्ने सामग्रीको विस्तार निगरानी गर्न र जवाफदेहिता सुधार गर्न नयाँ संयन्त्रहरू पनि विकास गर्ने जनाएको छ ।

१६ वर्षभन्दा कम उमेरकालाई लगाइने प्रस्तावित प्रतिबन्धबारे स्पष्ट पार्दै सान्चेजले बालबालिकामा अनलाइन दुर्व्यसन, दुरुपयोग, हेरफेर तथा हिंसात्मक वा स्पष्ट सामग्रीको जोखिम बढ्दै गएको बताउनुभयो। उमेरसम्बन्धी प्रतिबन्धलाई कडाइका साथ लागू गर्न सरकारले प्रभावकारी संयन्त्रहरू ल्याउने जानकारी पनि उनले दिए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु