Sunday, May 3, 2026
Zenith Migration Education
Sunday, May 3, 2026

राष्ट्रपति पौडलको जापान भ्रमणः द्विपक्षीय सम्बन्ध विस्तारमा उपलब्धिमूलक

Zenith Migration Education

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलको जापानको चारदिने औपचारिक भ्रमणले द्विपक्षीय सम्बन्धलाई थप सुदृढीकरण गर्न तथा आपसी हितका विषयमा सहयोग विस्तार गर्न उल्लेखनीय योगदान पुगेको परराष्ट्र सचिव अमृतबहादुर राईले बताएका छन् ।

राष्ट्रपति पौडल जापान भ्रमण सम्पन्न गरी बुधबार साँझ स्वदेश फर्कने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा भ्रमणबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा सचिव राईले सो कुरा बताएका हुन् ।

राष्ट्रपति पौडल नेपाल र जापानबीच कूटनीतिक सम्बन्ध स्थापनाको ७०औँ वार्षिकोत्सवका अवसरमा जापान सरकारको मैत्रीपूर्ण निमन्त्रणामा यही माघ १८ देखि २१ गतेसम्म जापानको चारदिने भ्रमण सम्पन्न गरी बुधबार स्वदेश फर्किएका हुन् ।

भ्रमणका क्रममा माघ २० गते राष्ट्रपति पौडेल तथा प्रथम महिला सविता पौडेलले टोकियोमा जापानका सम्राट नारुहितो तथा साम्राज्ञी मासाकोसँग भेटघाट गरेका थिए ।

सो अवसरमा नेपाल–जापान कूटनीतिक सम्बन्ध स्थापनाको ऐतिहासिक ७०औँ वार्षिकोत्सवको गहन महत्त्वका साथै गहिरो मित्रता, सद्भाव र सहयोगमा आधारित नेपाल–जापान सम्बन्धका विभिन्न पक्षमा विचार आदानप्रदान भएको सचिव राईले बताए ।

सोही दिन राष्ट्रपति पौडेल र जापानका प्रधानमन्त्री तकाइची सनायकाबीच भएको भेटघाटमा कूटनीतिक सम्बन्ध स्थापनापछि विगत ७० वर्षमा नेपाल र जापानबीच रही आएको उत्कृष्ट सम्बन्धको समीक्षा गरिएको थियो । साथै आगामी वर्षमा नेपाल–जापान सम्बन्धलाई अझ सुदृढ बनाउने बारेमा छलफल भएको सचिव राईले जानकारी दिए ।

दुई देशबीच व्यापार, लगानी, मानवसंशाधन विकास, स्वास्थ्य, कृषि, पूर्वाधार विकास, वातावरण संरक्षण, संस्कृति र पर्यटनजस्ता क्षेत्रमा आपसी हितलाई अभिवृद्धि गर्नेगरी सहयोग अगाडि बढाउने विषयमा पनि छलफल भएको थियो ।

प्रधानमन्त्री सनायकाले संविधान र लोकतन्त्रको रक्षाका लागि राष्ट्रपति पौडेलले खेलेको भूमिकाको उच्च प्रशंसा गर्दै नेपालको आर्थिक उन्नति, स्थायित्व र लोकतान्त्रिकीकरणका लागि जापानले निरन्तर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए । उनले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सफलताको कामना गर्दै यो नेपालको स्थायित्व र यो क्षेत्रकै लागि महत्त्वपूर्ण रहेको बताएका थिए ।

सोही दिन साँझ राष्ट्रपति पौडेल नेपाली राजदूतावासले आयोजना गरेको स्वागत समारोहमा सहभागी भएका थिए । कार्यक्रमलाई सम्बोधन गर्दै उनले नेपाल र जापानबीच रहेको उत्कृष्ट सम्बन्धको चर्चा गर्नुका साथै जापान एक भरपर्दो विकास साझेदारको रूपमा नेपालको सामाजिक–आर्थिक विकास प्रयासमा जापानको निरन्तर सहयोगको प्रशंसा गरेका थिए ।

यसअघि माघ १९ गते राष्ट्रपति पौडेल नेपाल–जापान कूटनीतिक सम्बन्धको ७०औँ वार्षिकोत्सव मनाउन जापान सरकारकोतर्फबाट त्यहाँका विदेश राज्यमन्त्री होरी इवाओले आयोजना गरेको विशेष स्वागत समारोहमा सहभागी भएका थिए । समारोहलाई सम्बोधन गर्दै उनले नेपाल र जापानबीच पारस्परिक सम्मान, विश्वास, समझदारी र सहयोगमा आधारित सौहार्दपूर्ण सम्बन्ध रहेकामा खुसी व्यक्त गरेको सचिव राईले बताए ।

बुद्धको जन्मस्थल लुम्बिनीले नेपाल र जापानबीचको जनस्तरको सम्बन्धलाई सुदृढ पार्न बलियो पुलका रूपमा काम गरेकाबारेमा प्रकाश पार्दै राष्ट्रपति पौडेलले विश्वशान्तिको मुहानको रूपमा लुम्बिनीको विकासमा जापानले गरेको निरन्तर सहयोगप्रति कृतज्ञता व्यक्त गरेका थिए ।

त्यस्तै जापानका विदेश राज्यमन्त्री इवाओले राष्ट्रपति पौडेलसँग शिष्टाचार भेट गरेका थिए । सो अवसरमा नेपाल–जापान सम्बन्ध र आपसी सहयोगका विविध क्षेत्रमा थप सहकार्य गर्दै जाने विषयमा छलफल भएको थियो ।

सोही दिन राष्ट्रपति पौडेलले जापानी व्यवसायी, उद्यमी र लगानीकर्तासँग भेटघाट क्रममा जापानी व्यापारिक समुदायलाई नेपालमा व्यावसायिक अवसर खोजी गर्न आमन्त्रित गर्नुका साथै लगानीका लागि नेपालका तर्फबाट हरसम्भव सहयोग प्रदान गर्ने आश्वासन दिएका थिए । राष्ट्रपति पौडेलको भ्रमण दलमा उनका धर्मपत्नी सविता पौडेललगायत नेपाल सरकारका उच्च पदाधिकारीहरू सहभागी थिए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु