काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले राजनीतिक दलहरूले आफ्ना आर्थिक एजेण्डालाई स्थापित गर्नुपर्ने बताएका छन् । नेपाल आर्थिक पत्रकार संघले आइतबार काठमाडौंमा आयोजना गरेको ‘दलका घोषणापत्रमा आर्थिक एजेण्डा’ कार्यक्रममा बोल्दै अध्यक्ष ढकालले राजनीतिक दलका नेताहरूले अन्य दललाई गाली गरेर स्थापित हुन खोज्ने प्रवृत्ति नहोस् भने बताए । उनका अनुसार अहिलेसम्म कुनैपनि दलका घोषणापत्रमा आर्थिक मुद्दा प्राथमिकतामा परेको छैन ।
ढकालले भने, “राजनीतिक दलका नेताहरूले अर्का दललाई नराम्रो देखाउने प्रचलन बढेको छ। नेगेटिभ प्रचारले बढी ठाउँ पाएको छ। अर्कालाई नराम्रो देखाएर आफू राम्रो बन्नुभन्दा आफ्ना गतिविधि राम्रो बनाएर अरूभन्दा उत्कृष्ट हुनुपर्ने थियो, तर त्यो अभ्यास देखिँदैन । निजी क्षेत्रप्रति रहेको धारणा पनि गलत छ । निजी क्षेत्रले कर तिर्दा, रोजगारी दिएर राज्यलाई ठूलो सहयोग गरेको छ, तर त्यो चर्चा राजनीतिका नेतृत्व र दलबाट हुन सकेको छैन । रोजगारी सिर्जना र करबारे चर्चा किन हुँदैन ? मन्त्रालयहरूबीच समन्वय छैन। निर्णय गर्दा लोकप्रियता खोज्ने प्रचलन छ र राज्यलाई क्षति पुग्ने निर्णय समेत हुने गरेको छ ।”
उनले थपे, “निजी क्षेत्रलाई राज्यले प्रोत्साहन र संरक्षण नगरे अर्थतन्त्र चलायमान हुन सक्दैन । अन्तरमन्त्रालय समन्वय नहुँदा धेरै समस्या देखिन्छ ।”
कार्यक्रममा होटल एशोसिएसन अफ नेपालका अध्यक्ष विनायक शाहले भने, “होटलहरूमा खर्बौँ लगानी भए पनि पूर्ण उपयोग हुन सकेको छैन । पर्यटकको खर्च कम्तिमा एक सय डलर हुनुपर्छ र कम्तीमा दुई हप्ता बस्नुपर्नेछ । त्यस अनुसार राज्यले नीति बनाउनुपर्छ । नेपाल टुरिज्म बोर्डलाई प्राधिकरणको रूपमा लैजानुपर्छ ।”
शाहले होटल क्षमता पूर्ण रूपमा उपयोग गर्न सांसदहरूले नीति बनाउनुपर्ने बताए । उनले पर्यटन र होटल नीति कर्मचारी केन्द्रित भएकाले व्यवसायीलाई समस्या हुने गरेको समेत बताए ।
निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले राजनीतिक दलहरूले आफ्ना घोषणापत्रमा पूर्वाधार विकासलाई प्राथमिकतामा राख्नुपर्ने सुझाव दिए । उनले अब दलहरूले घोषणापत्र केवल बनाउने न हो, व्यवहारमा लागू हुने बनाउनुपर्ने पनि बताए ।
सिंहले भने, “नेपाली जनता अब निर्वाचनमा मात्रै विश्वास गर्दैनन्। चुनाव त २०८२ मा हुन्छ, तर मुलुकको विकास त्यो भन्दा महत्त्वपूर्ण छ। विकास राजनीतिक एजेण्डामा सीमित हुन सक्दैन ।”
उनले निवर्तमान भौतिक पूर्वाधार तथा यातायात मन्त्री कुलमान घिसिङलाई लक्षित गर्दै पूर्वाधार क्षेत्रमा स्टन्ट गरेर काम नगर्न सुझाए । सिंहले राजनीतिक एजेण्डा मात्रै होइन, आर्थिक एजेण्डालाई दलहरूले मुख्य प्राथमिकतामा राख्नुपर्ने बताएका छन् । उनका अनुसार पुँजी विकास र उदयलाई सही रूपमा नचिनेर मुलुकको विकास सम्भव छैन । रोजगारी सिर्जना गर्ने उद्योग, पूर्वाधार र उत्पादन क्षेत्रलाई प्राथमिकता दिन आवश्यक रहेको उनको भनाइ छ।



