काठमाडौँ । नेपाली बजारमा इन्टरनेट कम्पनीहरुको बढी नै छ । करिव दुई दर्जनभन्दा बढी कम्पनीहरु प्रतिस्पर्धामा छन् । उनीहरुले सेवा प्रवाहलाई गुणस्तरीय बनाउनभन्दा पनि ग्राहक सङ्ख्या बढाउन होडबाजी गरिरहेका छन् ।
वर्ल्डलिंक, डिसहोम, नेपाल टेलिकमसहित करिव दुई दर्जन कम्पनीको अहिले बजारमा हालिमुहाली छ । बजारमा प्रतिस्पर्धा गर्नेमध्ये सबैभन्दा बढी बजार हिस्सा वर्ल्डलिंकको रहेको नेपाल दूरसञ्चार प्राधिकरणले सार्वजनिक गरेको तथ्याङ्कले देखाएको छ ।
प्राधिकरणकाअनुसार मङ्सिरसम्ममा बजार हिस्साको हिसावले वर्ल्डलिंकका सबैभन्दा ग्राहक छन् । वर्ल्डलिंकका ग्राहक १० लाख ५५ हजार पुगेका छन् भने इन्टरनेट कम्पनीहरुमा सबैभन्दा बढी बजार हिस्सा कायम गर्न सफल वर्ल्डलिंकपछिको डिसहोम हो । डिसहोमका ग्राहक तीन लाख ८२ हजार पुगेका छन् ।
बजार हिस्साको हिसावले तेस्रो नम्बरमा सरकारी लगानी रहेको नेपाल दूरसञ्चार कम्पनी (नेपाल टेलिकम) रहेको छ । टेलिकमका ग्राहक तीन लाख ७४ हजार पुगेका छन् । बजार हिस्साको रुपमा चौथो नम्बरमा भायनेट रहेको छ । बजार विस्तारमा आक्रामक देखिएको भायनेटका ग्राहक तीन लाख ४० हजार पुगेका छन् भने पाँचौ नम्बरमा क्लासिक टेक रहेको छ । क्लासिक टेकले मङ्सिर मसान्तसम्ममा दुई लाख ६८ हजार ग्राहक सङ्ख्या पुर्याएको छ ।
बजार हिस्साका रुपमा छैटौं नम्बरमा सुबिसु इन्टरनेट देखिएको छ । सुबिसुका ग्राहक दुई लाख ५५ हजार पुगेका छन् भने सातौँ नम्बरमा वेभसफर देखिएको छ । अहिले बजारमा वेभसफरका ग्राहक एक लाख ७६ हजार रहेका छन् ।
यस्तै, बजार हिस्साको हिसावले आठौँ नम्बरमा टेकमाइन्सले देखिएको छ । टेकमाइन्सका ग्राहक एक लाख २३ हजार रहेका छन् भने नवौँ नम्बरमा वाइफाई नेपाल, दशौँ नम्बरमा सिजि कम्युनिकेशन रहेको छ ।
इन्टरनेट कम्पनीहरुले यसरी ग्राहक तानातानमा उत्रिएका छन् । अहिले पनि उपभोक्ता भने इन्टरनेट प्रयोगमा सन्तुष्ट देखिँदैनन् । इन्टरनेट प्रदायक कम्पनीहरुले इन्टरनेटमा देखिएका समस्याहरु समाधानमा समयमै समाधान गर्न चासो नदेखाउने गरेको गुनासाहरु गर्ने गरेका छन् ।



