Wednesday, July 22, 2026
Zenith Migration Education
Wednesday, July 22, 2026

इरानमा प्रदर्शन दमन भयावह : ६ हजारको मृत्यु, हजारौँ अझै बेपत्ता

Zenith Migration Education

दुबई । इरानमा राष्ट्रव्यापी रूपमा भएका सरकारविरोधी प्रदर्शनमाथि गरिएको दमनका क्रममा कम्तीमा ६ हजार १२६ जनाको ज्यान गएको अधिकारकर्मी संस्थाहरूले बताएका छन् । अझै पनि धेरै मानिस बेपत्ता रहेको आशङ्का गरिएको छ ।

अमेरिकामा आधारित मानव अधिकार कार्यकर्ता समाचार एजेन्सीले मङ्गलबार सार्वजनिक गरेको विवरणअनुसार मृतकमध्ये कम्तीमा पाँच हजार ७७७ जना प्रदर्शनकारी, २१४ जना सरकारसमर्थित सुरक्षाकर्मी, ८६ जना बालबालिका तथा प्रदर्शनमा सहभागी नभएका ४९ जना सर्वसाधारण रहेका छन् । साथै, ४१ हजार ८ सयभन्दा बढी मानिसलाई पक्राउ गरिएको जनाइएको छ ।

इरानका अधिकारीहरूले इन्टरनेट सेवा बन्द गर्नुका साथै सञ्चारमा अवरोध गरेकाले स्वतन्त्र रूपमा मृतकको सङ्ख्या पुष्टि गर्न कठिन भएको एसोसिएटेड प्रेसले जनाएको छ ।

यसैबीच, इरान सरकारले भने मृत्यु हुनेको सङ्ख्या ३ हजार ११७ रहेको दाबी गर्दै अधिकांश नागरिक र सुरक्षाकर्मी भएको जनाएको छ भने बाँकीलाई ‘आतङ्ककारी’को संज्ञा दिएको छ । यसअघि पनि इरानी सरकारले आन्दोलनका क्रममा भएको क्षतिको यथार्थ विवरण सार्वजनिक नगरेको आलोचना हुँदै आएको छ ।

यी प्रदर्शनहरू गत डिसेम्बर १३ गतेदेखि सुरु भएका हुन् । इरानी मुद्राको तीव्र अवमूल्यनपछि सुरु भएको आन्दोलन देशभर फैलिएको थियो । प्रदर्शनलाई नियन्त्रण गर्न सरकारले कडा दमन गरेपछि अवस्था झन् तनावपूर्ण बनेको छ । दुई साताभन्दा बढी समयसम्म इन्टरनेट पूर्ण रूपमा बन्द गरिएको छ, जुन इरानको इतिहासकै सबैभन्दा व्यापक अवरोध मानिएको छ ।

यसबीच, अमेरिकाले मध्यपूर्व क्षेत्रमा सैनिक गतिविधि बढाएको छ । अमेरिकी विमानवाहक युद्धपोत समूह उक्त क्षेत्रमा पुगेको छ, जसलाई इरानविरुद्ध सम्भावित सैन्य कारबाहीका लागि तयारीका रूपमा हेरिएको छ । यद्यपि खाडी क्षेत्रका केही अरब राष्ट्रहरूले आफूहरू कुनै पनि आक्रमणमा सहभागी नहुने संकेत दिएका छन् ।

इरानले अमेरिकाको धम्कीले क्षेत्रीय तनाव बढाएको आरोप लगाएको भनेको छ । संयुक्त राष्ट्रसङ्घमा इरानका प्रतिनिधिले अमेरिकाले हिंसा भड्काएको दाबी गरे पनि त्यसको ठोस प्रमाण भने प्रस्तुत गरिएको छैन ।

यी घटनाले इरानमा दशकौँयताकै सबैभन्दा ठूलो मानवीय सङ्कट उत्पन्न गरेको विश्लेषकहरूको भनाइ छ । सन् १९७९ को इस्लामिक क्रान्तिपछिको अवस्थासँग तुलना गर्न थालिएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु