Saturday, June 6, 2026
Zenith Migration Education
Saturday, June 6, 2026

देश जित्ने कि हार्ने निर्णायक मोडमा राजनीति पुगेको छ : अध्यक्ष ओली

Zenith Migration Education

काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले अहिलेको राजनीतिक परिस्थिति देश जित्ने कि देश हार्ने भन्ने निर्णायक मोडमा पुगेको बताएका छन् । शनिबार काठमाडौँस्थित पार्टी केन्द्रीय कार्यालयमा जसपा नेपालका पूर्वकेन्द्रीय सदस्य तथा शेयर लगानीकर्ता दीपेन्द्र अग्रवाललाई एमालेमा स्वागत गर्दै अध्यक्ष ओलीले देशलाई जिताउने पक्षमा उभिन सबैलाई आह्वान गरे ।

अध्यक्ष ओलीले देश जिताउनुपर्छ भन्ने सोचका साथ एमालेमा प्रवेश गर्ने सबैलाई पार्टीमा स्वागत रहेको उल्लेख गर्दै अग्रवाल देशभक्त पार्टीमा प्रवेश गरेको बताए । ‘शान्ति, लोकतन्त्र, सुशासन र विकासको पक्षमा उभिएको पार्टीको पक्षमा उहाँ लाग्नुभएको छ,’ उनले भने ।

नेपाल समृद्ध हुनुपर्ने र नेपाली जनता सुखी हुनुपर्ने एमालेको मूल लक्ष्य रहेको अध्यक्ष ओलीको भनाइ छ। उनले एमाले अन्य पार्टीझैँ केवल एउटा राजनीतिक दल मात्र नभई स्पष्ट गन्तव्यसहित यात्रामा हिँडेको पार्टी भएको उल्लेख गरे ।

नयाँ नाममा उदाएका केही पार्टीहरूप्रति सङ्केत गर्दै अध्यक्ष ओलीले ती दलहरूको कुनै स्पष्ट गन्तव्य नभएको टिप्पणी गरे । ‘आज हिँड्दै छु, कहाँ जाँदै छु थाहा छैनस भोलि कहाँ पुग्ने हो, थाहा छैन,’ उनले भने, ‘एमाले भने सुखी नेपाली, समृद्ध नेपालको लक्ष्य लिएर अघि बढिरहेको पार्टी हो ।’

अध्यक्ष ओलीले एमाले समुन्नत, सुसंस्कृत र सभ्य समाज निर्माणका लागि निरन्तर काम गरिरहेको बताए । राम्रो काम गर्दा विरोध र षड्यन्त्र स्वाभाविक रूपमा आउने उल्लेख गर्दै उनले धार्मिक–ऐतिहासिक सन्दर्भ प्रस्तुत गरे । ‘त्रेतायुगमा भगवान् राम र द्वापरयुगमा पाण्डवहरू पनि वनवास पठाइएका थिए,’ उनले भने, ‘राम्रो काम गर्ने र असल मनसाय राख्नेहरूले दुःख भोग्नुपर्छ।’

एमाले प्रशंसाको पछि नभई सत्यको पछि हिँड्ने पार्टी भएको स्पष्ट पार्दै अध्यक्ष ओलीले देशको रक्षा र विकास नै पार्टीको मुख्य लक्ष्य रहेको बताए । उनले अर्थतन्त्रको अवस्था र सरकारप्रतिको विश्वास शेयर बजारले प्रतिबिम्बित गर्ने उल्लेख गर्दै पुँजी बजारलाई राष्ट्रिय अर्थतन्त्रको महत्त्वपूर्ण सूचकका रूपमा लिनुपर्ने धारणा व्यक्त गरे ।

अग्रवालसहित विभिन्न क्षेत्रका व्यक्तित्वहरूको एमाले प्रवेशलाई पार्टीले आर्थिक र राजनीतिक विश्वासको अभिव्यक्तिका रूपमा लिएको जनाएको छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु