नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का नेता अग्निप्रसाद सापकोटाले राष्ट्रिय सभा सदस्य निर्वाचनमा कांग्रेस र एमालेसँग सहकार्य गर्ने विषय पार्टीपंक्ति र आम जनताले मन पराएको नदेखिएको बताएका छन् ।
नेता सापकोटाले राजनीतिक दलहरूबिच सहकार्य हुनु स्वाभाविक भए पनि आम नागरिकले सकारात्मक रूपमा नलिएको बताए । उनले राष्ट्रिय सभा सदस्य निर्वाचनमा मतभारको आधारमा सिट बाँडफाँट हुने प्रस्ताव पार्टीले अघि सारेको भए पनि कांग्रेस–एमाले त्यसका लागि तयार नभएको पनि बताए ।
सापकोटाले आगामी प्रतिनिधि सभा निर्वाचनमा नेकपा कुनै पनि दलसँग सहकार्य नगर्ने स्पष्ट पारे । “राष्ट्रिय सभा निर्वाचन आम निर्वाचनजस्तो होइन । प्रतिनिधिहरूले चुन्ने निर्वाचन भएको कारण एक्लै चुनाव लड्न जनताबाट सुझाव पनि आएको छ,” उनले भने ।
उनले थप्दै भने, “राष्ट्रिय सभा सदस्यमा काँग्रेस र एमालेसँग मिल्ने कुरा हाम्रो पार्टी पंक्ती र आम जनताले त्यति मन पराइरहेका छैनन् । आलोचना र टिप्पणी बाहिर आएका थिए, तर सहकार्य स्वभाविक पनि हुन्छ । हामी स्वतन्त्रतापूर्वक चुनाव लड्न चाहन्छौं ।”
सापकोटाले विगतमा अन्य दलसँग गठबन्धन गर्दा आफ्नो पार्टीको पहिचान स्थापित हुन नसकेको स्वीकार्दै, नेकपाले मुलुकका अग्रगामी एजेण्डा उठाउँदै आएको पनि उल्लेख गरे । उनले काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साह र रास्वपामा विचार र दृष्टिकोणको खडेरी रहेको टिप्पणी पनि गरे ।
सापकोटाले महाधिवेशन र नेपाली कांग्रेसभित्रको आन्तरिक विवादले नेकपा र राष्ट्रिय राजनीतिमा प्रत्यक्ष असर नपर्ने भन्दै पार्टी एकतावद्ध रहनुपर्नेमा जोड दिए ।
सर्वोच्च अदालतले विचाराधीन संसद विघटनसम्बन्धी मुद्दा छिटो टुङ्गोमा पुर्याउनुपर्नेमा समेत उनले जोड दिए । उनका अनुसार हालको राजनीतिक सङ्कट निकास निर्वाचन मार्फत मात्र सम्भव छ।



