गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् (एनआरएनए) अमेरिकाले युवा तथा खेलकुदमन्त्री बब्लु गुप्तालाई अमेरिकामा आयोजना हुने कुनै पनि कार्यक्रममा आमन्त्रण नगरेको स्पष्ट पारेको छ।
मन्त्री गुप्ता अमेरिका भ्रमणमा जाने तयारीमा रहेको समाचार सार्वजनिक भइरहेका बेला परिषद्का प्रवक्ता सन्देश उप्रेतीले विज्ञप्ति जारी गर्दै अमेरिकामा युवासम्बन्धी कुनै पनि कार्यक्रम आयोजना नगरिएको र मन्त्री गुप्तालाई नबोलाइएको स्पष्ट पारेका हुन् ।
विज्ञप्तिमा भनिएको छ, “गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद्, अमेरिकाले नेपाल सरकारका युवा तथा खेलकुदमन्त्री माननीय बब्लु गुप्तालाई अमेरिकामा कुनै पनि कार्यक्रमका लागि आमन्त्रण गरेको छैन भन्ने कुरा स्पष्ट रूपमा जानकारी गराउन चाहन्छौं। साथै, परिषद्को तर्फबाट अमेरिकामा कुनै पनि युवासम्बन्धी कार्यक्रम आयोजना गरिएको छैन।”
प्रवक्ता उप्रेतीले परिषद् कुनै पनि अनधिकृत गतिविधि, कार्यक्रम वा कथित युवासम्बन्धी कार्यक्रमसँग संस्थाको कुनै प्रकारको संलग्नता, स्वीकृति वा सम्बन्ध नरहेको पनि स्पष्ट पारेका छन्।
“गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद्, अमेरिकाको आधिकारिक स्वीकृति बिना गरिएका कुनै पनि कार्यक्रम, भ्रमण, संकलन (फन्डरेजिङ) वा गतिविधिहरू पूर्ण रूपमा अवैध र अमान्य हुनेछन्,” विज्ञप्तिमा उल्लेख छ।
परिषद्को नाम र पहिचानको दुरुपयोग गर्ने व्यक्ति वा समूहविरुद्ध आवश्यक कानुनी कारबाही प्रक्रिया अगाडि बढाइने पनि विज्ञप्तिमा जनाइएको छ।
यस विषयको गम्भीरतालाई ध्यानमा राख्दै यस्ता गैरकानुनी तथा अनधिकृत गतिविधिहरूको सम्पूर्ण विवरण संयुक्त राज्य अमेरिकाको होमल्यान्ड सेक्युरिटी र नेपालस्थित अमेरिकी दूतावासलाई औपचारिक रूपमा जानकारी गराइने प्रवक्ता उप्रेतीले बताएका छन्।




