सिड्नी — अष्ट्रेलियाको न्यू साउथ वेल्स (NSW) राज्यमा गैरआवासीय नेपाली संघ (NRNA) NSW द्वारा आयोजित ‘Meet & Greet with Max Basnet’ कार्यक्रम बिहीबार उत्साहपूर्वक सम्पन्न भएको छ।
१४ पटकका राष्ट्रिय बक्सिङ च्याम्पियन तथा हालै जापानमा सम्पन्न अन्तर्राष्ट्रिय प्रतियोगिताका विजेता म्याक्स (मनोज) बस्नेत लाई सो कार्यक्रममा सम्मानपत्र र मायाको चिनो प्रदान गरिएको थियो।

कार्यक्रमको संयोजन NRNA NSW की संयोजक उषा बारिया पोखरेल नेतृत्वको टिमले गरेको हो। कार्यक्रममा NRNA NSW का सचिव प्रताप , पन्थी कोषाध्यक्ष निजन चौलागाईं, आषा श्रेष्ठ, चण्डिका ओली लगायतका अभियन्ता तथा नेपाली समुदायका अगुवाहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

सम्मान ग्रहण गर्दै बस्नेतले आफ्नो १५ वर्ष लामो खेल जीवनका अनुभवहरू साझा गर्दै भने,
“नेपालमा खेलकुद क्षेत्रको भविष्य सुरक्षित नभएकाले धेरै खेलाडीहरू रोजगारी र अवसरको खोजीमा विदेशिन बाध्य छन्। खेलकुदको विकासका लागि दीर्घकालीन योजना र सहयोग आवश्यक छ।”

संयोजक उषा बारिया पोखरेलले बस्नेतले राष्ट्रको प्रतिनिधित्व गर्दै अन्तर्राष्ट्रिय स्तरमा नेपाललाई चिनाउन गरेको योगदानप्रति धन्यवाद व्यक्त गर्दै भनिन्,
“खेलाडी देशका गहना हुन्। उनीहरूको योगदानको कदर गर्दै प्रेरणा जगाउन यस किसिमका कार्यक्रमहरू निरन्तर गर्दै जानेछौं।”

कार्यक्रममा पोखरेलकी आमा तथा काठमाडौं महानगरपालिका–३२ की सदस्य समाजसेवी हिरा देवी पोखरेल पनि उपस्थित थिइन्। उनले छोरीको नेतृत्वमा खेलाडी सम्मान र सामाजिक गतिविधिमा देखिएको सक्रियता प्रति गर्व व्यक्त गरिन्।

त्यसैगरी, ग्रान्डभिल समाजका अध्यक्ष भिम बस्नेत, NAYA का अध्यक्ष बिपिन थापा, अवर्न नेप्लिज कम्युनिटीका अध्यक्ष अरुण श्रेष्ठ, र सञ्चारकर्मी हेमन्त काफ्ले लगायतको सहभागिता रहेको थियो।
कार्यक्रममा काफ्लेले भने,
“राष्ट्रिय खेलाडीहरूको विदेश पलायन राष्ट्रका लागि हानिकारक छ। उनीहरूलाई स्वदेशमै अवसर दिलाउन राज्यले ठोस नीति अपनाउन आवश्यक छ।”







