Wednesday, March 11, 2026
Zenith Migration Education
Wednesday, March 11, 2026

निर्वाचनको तयारी अगाडि बढाउन प्रधानमन्त्रीको निर्देशन

Zenith Migration Education

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्की र निर्वाचन आयोगका पदाधिकारीहरू बीच ०८२ साल फागुन २१ गते सम्पन्न हुने प्रतिनिधि सभा निर्वाचनको तयारीका विषयमा छलफल भएको छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मंगलबार भएको छलफलमा प्रधानमन्त्री कार्कीले निर्वाचन स्वच्छ, स्वतन्त्र, भयरहित, निष्पक्ष र मितव्ययी रूपमा सम्पन्न गर्नु सरकारको उच्च प्राथमिकताको विषय भएको जानकारी गराइन् ।

सरकारको तर्फबाट निर्वाचन आयोगलाई आवश्यक पर्ने स्रोत साधन र जनशक्ति उपलब्ध गराइने, शान्तिसुरक्षाको भरपर्दो व्यवस्था मिलाइने, निर्वाचनको लागि अनुकूल वातावरण तयार गर्न सरोकारवालाहरूसँग छलफल गरिने भन्दै आयोगलाई निर्वाचन तयारीका सम्पूर्ण कार्य तत्काल अगाडि बढाउन आग्रह गरिन् । 

छलफलमा आयोगको तर्फबाट कार्यवाहक प्रमुख निर्वाचन आयुक्त राम प्रसाद भण्डारीले निर्वाचन सम्पन्न गर्नका लागि आवश्यक पर्ने मतपेटिका लगायतका निर्वाचन सामग्रीहरू मौज्दातमा रहेको र मौज्दातमा नभएका अन्य सामग्री समेत स्वदेशमा उत्पादित सामग्रीलाई प्राथमिकता दिई प्रतिस्पर्धात्मक तरिकाले खरिद गरिने, राजनीतिक दल लगायत सरोकारवालाहरूसँग समन्वय गरिने प्रतिबद्धता व्यक्त गर्दै सरकारका तर्फबाट भरपर्दो सुरक्षा प्रबन्ध मिलाइदिन अनुरोध गरे ।

छलफलमा नेपाल सरकारका अर्थमन्त्री रामेश्वर प्रसाद खनाल, गृहमन्त्री ओम प्रकाश अर्याल, कानून, न्याय तथा संसदीय मामिलामन्त्री अनिल कुमार सिन्हा, सरकारका मुख्य सचिव एकनारायण अर्याललगायत सम्बन्धित अधिकारीहरू र आयोगको तर्फबाट निर्वाचन आयुक्तद्वय डा.जानकी कुमारी तुलाधर र  सगुन सम्शेर जबरा तथा आयोगका सचिव माहादेव पन्थ लगायतको उपस्थिति थियो । 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु