Thursday, April 30, 2026
Zenith Migration Education
Thursday, April 30, 2026

सेन्ट जोर्जले सहारा कप जित्यो

Zenith Migration Education

सिड्नी — सहारा क्लब अष्ट्रेलियाको आयोजनामा सञ्चालित सहारा कप फुटबल प्रतियोगिताको उपाधि सेन्ट जोर्ज क्लबले आफ्नो पोल्टामा पारेको छ। लिग कम नकआउट आधारमा खेलाइएको प्रतियोगिताको फाइनलमा दी राइजिङ गोर्खाज (टीआरजी) क्लबलाई १–० को अन्तरले हराउँदै सेन्ट जोर्जले रनिङ शिल्ड हात पारेको हो।

दोस्रो हाफको सुरुआतसँगै बनेको आक्रमणमा सेन्ट जोर्जका शुसान्त कुवरले निर्णायक गोल गर्दै उपाधि क्लबको नाममा लेखाएका थिए। निकै प्रतिस्पर्धात्मक खेलको आठौँ मिनेटमा टीआरजीका स्ट्राइकरले वन भर्सेज वन गोल गर्ने मौका गुमाएपछि अग्रता लिन सकेनन्। मध्यान्तरअघि दुवै टोलीले गोल गर्ने केही सुनौला अवसर गुमाएका थिए।

मध्यान्तरपछिको खेल केही रफ एन्ड टफ भयो। दुवै टोलीका खेलाडीले पडकाएर खेल्ने शैली अपनाएपछि टीआरजीको आपसी सन्तुलन बिग्रियो। यही अवसरको फाइदा उठाउँदै सेन्ट जोर्जले मिस पासलाई ट्याकल गर्दै निर्णायक गोल गरेको हो।

निर्णायक गोलकर्ता शुसान्त कुवर खेलको म्यान अफ द म्याच घोषित भए भने टीआरजीका प्रवेश रन्जित म्यान अफ द सिरिज बने।

फाइनलअघि, सहारा अष्ट्रेलियाका संस्थापक राजमान थकालीको स्मृतिमा आयोजित मैत्रीपूर्ण फुटबल खेलमा सहारा अष्ट्रेलियाले नेप्लिज थन्डर्सलाई ३–२ ले पराजित गरेको थियो। सिड्नीका फुटबलका पहिलो पुस्ता सम्मिलित मैत्रीपूर्ण खेलमा एन्फा अष्ट्रेलियाका पदाधिकारी पनि मैदानमा उत्रिएका थिए। सहाराको कप्तानी एनआरएन अष्ट्रेलियाका सचिव कल्याण खड्काले गरेका थिए भने थन्डर्सको कप्तानी कपिल खत्रीले गरेका थिए। सहारातर्फ सुमितकाजी श्रेष्ठले एक गोल र प्रनिशले दुई गोल गरेका थिए भने थन्डर्सतर्फ दिनेश अमात्य र बिनम हाडाले एक–एक गोल गरे।

प्रतियोगिताका विजेता खेलाडीलाई एन्फा अष्ट्रेलियाका अध्यक्ष विजय राउत, पूर्वअध्यक्ष विजेन बटाजु, सहारा अष्ट्रेलियाका अध्यक्ष सिद्धार्थ पौडेल, वरिष्ठ पत्रकार हेमन्त काफ्ले, एनआरएन अष्ट्रेलियाका सचिव कल्याण खड्का, शैक्षिक व्यवसायी राम श्रेष्ठ, तमु समाज अष्ट्रेलियाका अध्यक्ष हेउपती गुरुङ, सहाराका ईश्वर पहारी, एनआरएनका पूर्वअध्यक्ष नन्द गुरुङलगायतले ट्रफी, नगद तथा प्रमाणपत्र वितरण गरेका थिए।

विजेता सेन्ट जोर्जले रनिङ शिल्डसहित तीन हजार अस्ट्रेलियन डलर प्राप्त गर्दा उपविजेता टीआरजीले एक हजार डलर नगद पुरस्कार हात पारेको थियो।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु