Friday, April 17, 2026
Zenith Migration Education
Friday, April 17, 2026

काठमाडौँ महानगर उपप्रमुख डंगोल जेनेभा प्रस्थान

Zenith Migration Education

काठमाडौँ । स्वीजरल्याण्डको जेनेभामा आयोजना हुने विश्व युवा नेता विश्वव्यापी शिखर सम्मेलनमा भाग लिन काठमाडौँ महानगरपालिकाका उपप्रमुख सुनिता डंगोल प्रस्थान गरेकी छन् । ‘द फोरम अफ यङ् ग्लोबल लिडर्स’ ले नयाँ युगलाई हाँक्न नेतृत्व तयारीका लागि भदौ १७ गते देखि १९ (सेप्टेम्वर २–४) सम्म सम्मेलन आयोजना गरेको हो ।

फोरममा ४० वर्षभन्दा कम उमेरका युवा नेताहरू छन् । यसमा शिक्षा, आर्ट, कल्चर एण्ड स्पोर्टस, व्यापार, नागरिक समाज, मिडिया, जनप्रतिनिधि, सामाजिक उद्यमशील लगायत क्षेत्रबाट प्रतिनिधित्व छ ।

सम्मेलनमा विभिन्न विधामा नेतृत्व गर्ने युवाहरूका विच आपसी संवाद र सञ्जाल निर्माण हुनेछ । यस्तै, यङ् ग्लोबल लिडरहरूका बिचका आपसी सिकाइ र अनुभव आदान प्रदान हुनेछ । यसले विश्वका फरक क्षेत्र र परिवेशलाई बुझ्न मद्दत गर्नेछ ।

उनले भनिन्, ‘युवा विश्व नेता चयन भइसकेपछिको यो पहिलो बैठक हो । यसले फरक परिवेशका सम्भावनाहरू जान्ने अवसर प्रदान गर्नेछ । यसको सबैभन्दा महत्वपूर्ण पक्ष भनेको विभिन्न विधाको नेतृत्व गर्ने युवाहरू एकै ठाउँमा हुनु हो । यसले विश्वको परिवेश बुझेर आफ्नो क्षेत्र अगाडि बढाउन परिपक्वता प्रदान गर्नेछ ।’

परिवर्तनशील संसारको नेतृत्वमा साहस, स्पष्ट मार्गचित्र र सामूहिक उद्देश्य सम्मेलनको अपेक्षित नतिजा भएको डंगोलले बताइन् ।

गएको वैशाखमा उपप्रमुख डंगोल, विश्व आर्थिक मञ्च २०२५ का लागि विश्वव्यापी युवा नेताहरूको मञ्चमा चयन भएकी हुन् । युवाहरूलाई प्रेरणा प्रदान गर्ने र सांस्कृतिक पहिचानलाई आधुनिकतासँग जोड्ने राजनीतिज्ञका रूपमा उनलाई चयन गरेको हो ।

यसमा दक्षिण एशियाली मुलुकबाट ११ जना प्रतिनिधि छानिएका छन् । त्यसमध्ये नेपालबाट छानिनेमा डंगोल मात्र छिन् । विभिन्न ५० देशबाट प्रतिनिधित्व रहेको यस समूहमा ७ क्षेत्रमध्ये सरकारको प्रतिनिधित्व गर्दै उपप्रमुख डंगोल चयन भएकी हुन् । यस समूहमा ४० वर्षभन्दा कम उमेर भएका विश्वका ११६ जना युवा नेतृत्व हुनुहुन्छ। डंगोल, यसअघि विश्व आर्थिक मञ्चको ग्लोबल सेपर्स काठमाडौँ हवको सदस्य थिइन्।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु