Monday, April 20, 2026
Zenith Migration Education
Monday, April 20, 2026

बेपत्ता परिवारका सदस्य भन्छन् : अझै आशा मरेको छैन

Zenith Migration Education

तुलसीपुर (दाङ) । यहाँको दाङ दङ्गीशरण गाउँपालिका–३ चितानपुर निवासी हरिराम चौधरी विसं २०५९ देखि बेपत्ता भए । मल लिन तुलसीपुर जाने भनी हिँडेका चौधरी बेपत्ता भए पनि परिवारको आश भने अझै मरेको छैन । “अझै पनि आउनुहुन्छ, की भन्ने लाग्छ”, भाई सीताराम चौधरीले भने, “आश अझै मरेको छैन ।”

त्यस्तै आशामा हुनुहन्छ्, तुलसीपुर उपमहानगरपालिका–११ निवासी लक्ष्मी चौधरी पनि । उनका श्रीमान् खोपीराम चौधरी विसं २०५९ मा बेपत्ता भए । त्यसपछि अहिलेसम्म कुनै पत्ता लाग्न सकेको छैन । “न त सास छ, न त शव नै भेटियो”, उनले भने, “अझै पनि आउनुहुन्छ की भन्ने लाग्छ ।”

सरकारले यथार्थ पत्ता नलगाइदिँदा अझै घाउमा मल्हम लाग्न नसकेको उनको भनाइ छ । पटकपटक अन्तरक्रिया कार्यक्रम हुने, अवस्था बुझ्न आउने गरे पनि वास्तविक अवस्था पत्ता लाग्न नसकेको उनको दुःखेसो छ ।

घोराही उपमहानगरपालिका–१७ निवासी बिपीन आचार्यका बुवा थानेश्वर आचार्य विसं २०५९ मा बेपत्ता भए । उनी बेपत्ता भएपछि अहिले घरमा अंशवण्डा नै प्रभावित भएको छ । “बुवा बेपत्ता हुनुहुन्छ, उहाँको मृत्यु दर्ता नहुँदा अंशवण्डा गर्न सकिएको छैन”, उनले भने, “बुवाहरुकै अंशवण्डा छैन ।”

उनीहरु जस्तै अझै धेरै बेपत्ता परिवारहरु ती बेपत्ता भएका परिवारका सदस्यको बारेमा कुनै जानकारी नहुँदा पीडित छन् । घरकै मुली मान्छे बेपत्ता हुँदा घर चलाउन समस्या हुने गरेको छ । द्वन्द्व पीडित सञ्जाल दाङका अध्यक्ष प्रकाश चौधरीले युद्धको समयमा बेपत्ता पारिएका नागरिकको अवस्थाबारे जानकारी हुन नसकेका कारण युद्ध सकिएको मान्न नसकिने बताए ।

विस्तृत शान्ति सम्झौता भएको १९ वर्षसम्म बेपत्ता छानबिन हुन नसक्नु दुःखद भएको उनको भनाइ छ । नेपाल रेडक्रसको तथ्याङ्कअनुसार दाङमा ८२ परिवारका सदस्यहरु बेपत्ता पारिएका छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु