काठमाडौँ । नेपाली क्रिकेट टोलीले साउथ अष्ट्रेलिया(एसए)सँगको अभ्यास वान डे खेल जितेको छ । शनिबार भएको खेलमा साउथ अष्ट्रेलियाले दिएको २४३ रनको लक्ष्य नेपालले पाँच बल बाँकी छँदा आठ विकेटको क्षतिमा भेट्टायो ।
नेपालका लागि कप्तान रोहित पौडेलले अविजित १०१ रन बनाए । १६१ रनमा ८ विकेट गुमेको अवस्थाबाट रोहित र सोमपाल कामीले अर्धशतकीय साझेदारी गरे । सोमपाल ४० रनमा अविजित रहे ।
त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको साउथ अष्ट्रेलियाले निर्धारित ४५ ओभरमा २४२ रनमा अलआउट हुँदै नेपाललाई २४३ रनको लक्ष्य दिएको हो । साउथ अष्ट्रेलियाका लागि ह्यारी मानेन्तीले सर्वाधिक ६३ रन बनाए भने दुवित हूगानबोजमले ५३ रन बनाए । रायन किङले ३५ तथा म्याकेन्जी हार्भेले २४ रन बनाए ।
नेपालका लागि नन्दन यादव र सोमपाल कामीले ३–३ विकेट लिए भने सन्दीप लामिछाने, शाहब आलम र रुपेश सिंहले १–१ विकेट लिए ।
टप एन्ड टी–२० सिरिज समाप्त भएपछि भएको अभ्यास टी–२० मा अष्ट्रेलिया क्यापिटल टेरिटोरीलाई हराउँदा एसएसँग भने पराजित भएको थियो । टप एन्ड टी–२० सिरिजमा नेपाल ११ टिममध्ये आठौं भएको थियो ।



