Saturday, September 5, 2026
Zenith Migration Education
Saturday, September 5, 2026

दुर्गा प्रसाईं अझै फरार, खोजी तीब्र

Zenith Migration Education

काठमाडौंको तीनकुने शुक्रबार हिंसात्मक प्रदर्शन गर्ने राजावादी समूहका ‘जनकमाण्डर’ दुर्गा प्रसाईं अझै फरार छन् । राप्रपाका उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री धवलशमशेर जबरासहित पाँच जनालाई प्रहरीले गए राति नै पक्राउ गरे पनि प्रदर्शनका ‘जनकमाण्डर’ प्रसाईं भने फरार छन् ।

काठमाडौं प्रहरी परिसर र उपत्यका अपराध अनुसन्धान कार्यालयले उनको खोजी गरिरहेको छ । यद्यपि उनी नभेटिएको काठमाडौं प्रहरी परिसरका प्रवक्ता एसपी अपिलराज बोहराले बताएका छन् । शुक्रबार निषेधित क्षेत्रतर्फ प्रदर्शनकारीहरूलाई आउन नदिनका लागि तैनाथ भएको प्रहरीलाई नै किचुँलाझै गरी प्रसाईंले गाडी हुइँकाएपछि प्रदर्शनकारीहरू उग्र बनेका थिए ।

त्यसपछिको प्रदर्शन हिंसात्मक हुँदा दुई जनाको मृत्यु भएको थियो भने ११० जना सुरक्षाकर्मी घाइते भएका थिए । १४ ठाउँमा आगजनीका घटना र निजी तथा सरकारी गरी १५ गाडी जलाएका थिए । परिस्थिति नियन्त्रणमा लिन काठमाडौं प्रशासनले अपराह्नदेखि कर्फ्यु आदेश जारी गरेको थियो । साँझदेखि प्रसाईंको खोजी सुरू गरेको थियो । प्रसाईं भने मोबाइल अफ गरेर भागेको प्रहरीले जनाएको छ । उनको खोजीको क्रममा प्रहरीले उनको घर निगरानी गरेको थियो ।

‘उनी मोबाइल पनि अफ नै गरेर बसेका छन् । तर धेरै टाढा गएका छैनन् कि भन्ने छ,’ उनले भने, ‘सुरूमै घरमा प्रहरीको निगरानी हुने भयो । अन्त पनि सम्भावित ठाउँहरूमा खोजी भइरहेको छ,’ शुक्रबार एक प्रहरीले भने । उनको अन्तिम लोकेशन गैरीगाउँ देखिएको थियो ।

प्रसाईंलाई ज्यान मार्ने उद्योग, हिंसात्मक गतिविधि, आगजनी र सार्वजनिक सम्पत्ति तोडफोडको कसुरमा मुद्दा चलाउन मिल्ने नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता डिआइजी दिनेशकुमार आचार्यले जानकारी दिए। उनको खोजीका लागि काठमाडौं र आसपासका तीनै जिल्लामा प्रहरी परिचालन भएका छन् । पक्राउ परेका राप्रपा उपाध्यक्ष रवीन्द्र मिश्र, महामन्त्री धवलशमशेर जबरासहित पाँच जना काठमाडौं प्रहरी परिसरको नियन्त्रणमा छन् । उनीहरुलाई कुन–कुन मुद्दा लगाउने भन्नेबारे छलफल भइरहेको एसपी बोहराले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु