Wednesday, May 27, 2026
Zenith Migration Education
Wednesday, May 27, 2026

मधेसमा उमेर नपुगी विवाह गर्ने ५० प्रतिशत भन्दाबढी

Zenith Migration Education

महोत्तरी : राष्ट्रिय जनगणना–२०७८ को तथ्याङ्कअनुसार मधेसमा २० वर्ष नपुगी विवाह गर्ने किशोरीको सङ्ख्या ५० प्रतिशतभन्दा बढी देखिएको छ । राष्ट्रिय जनगणनामा उल्लेख गरिएको विवरण अनुसार १५ देखि १७ वर्षभित्र विवाह गर्ने २७.७ प्रतिशत छन् । यसैगरी १० देखि १४ वर्षको उमेरभित्र विवाह गर्ने ९.३ प्रतिशत र १० वर्ष उमेर मुनि विवाह गराइने ०.२ प्रतिशतसहित यो सङ्ख्या ३७.२ प्रतिशत हुन्छ । अठार र २० वर्ष उमेरबीच विवाह गर्ने ३९.५ प्रतिशत छन् ।

दुलाहाको उमेर २० देखिए पनि दुलही १७ वर्षका पाइएका छन् । उमेर नपुगी विवाह भएका महिला ३९.५ को आधा हुँदा कूल उमेर नपुगी विवाह हुनेको सङ्ख्या ५० प्रतिशतमाथि पुग्ने देखिएको बालविवाहविरुद्ध सामाजिक अभियान सञ्चालन गर्दै आएको रत्यौली युवाक्लबका अध्यक्ष वैद्यनाथ चौधरीले जानकारी दिनुभयो । मधेसमा विवाह हुने सालाखाला औसत उमेर नै १८ वर्ष रहेको राष्ट्रिय जनगणना, २०७८ को तथ्याङ्क अभिलेखमा उल्लेख छ । पुरुषको उमेर २० वर्ष भए पनि महिला १७ वर्षसम्मका पाइएका छन् । बालविवाहको यो पाटोबाहेक अनमेल विवाह हुँदा पनि बालविवाहमा पर्ने किशोरी नै बढी रहेका देखिएको चौधरीले बताउनुभयो ।

पछिल्ला केही वर्षयता अनमेल विवाह घट्दै गए पनि समाजमा पाको उमेरका पुरुषको सम्पति हेरेर उमेर नपुगेकी छोरी दिनेहरु समाजमा अझै बाक्लै रहेका उहाँको भनाइ छ । बालविवाहको यो अवस्था अन्त्य गर्न जिल्लाका स्थानीय तहले विभिन्न सामाजिक सङ्घसँगको सहकार्यमा सामाजिक जागरण अभियान सञ्चालन गर्दै आएका छन् । मटिहानी, बलवा, मनराशिशवा, जलेश्वर र लोहारपट्टी नगरपालिका तथा पिपरा र महोत्तरी गाउँपालिकामा बालविवाहविरुद्ध सामाजिक जागरणका लागि विवाह प्रणाली सुधार परियोजना सञ्चालन भइरहेका मटिहानी नगरपालिकाका प्रमुख हरिप्रसाद मण्डलले जानकारी दिनुभयो । यी सात स्थानीय तहका ४९ वटा विद्यालयमा बालविवाह अन्त्यका लागि जीवनोपयोगी शिक्षा र व्यवहार परिवर्तनसम्बन्धी सैद्धान्तिक कक्षा, छलफल र अभ्यास भइरहेका जनाउँदै यसबाट सकारात्मक परिणाम प्राप्त भइरहेको नगरप्रमुख मण्डलले बताउनुभयो ।

बालविवाह न्यूनीकरणका लागि स्थानीय सरकारले विद्यालयमा बालबालिका र अभिभावकबीच जनचेतनामूलक कार्यक्रम, सडक नाटक प्रदर्शन, बालक्लबको गठन, तालिम र बालमैत्री शासनलगायत कार्यक्रम सञ्चालन गराइरहेका छन् । मटिहानी नगरपालिकाले उमेर पुगेपछि छोराछोरीको विवाह गराउने अभिभावक, विवाह विधि सम्पन्न गराउने गुरु÷पुरोहित तथा मोल्वी (इस्लाम धर्मावलम्बीका पुरोहित) लाई सामाजिक सम्मान गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु