नेपाल प्रहरीको कार्ययोजना तथा कार्यसम्पादन सम्झौताको तेस्रो त्रैमासिक समीक्षा सम्पन्न
काठमाडौं: नेपाल प्रहरीको नेपाल प्रहरी कार्ययोजना, २०८० तथा चालु आर्थिक वर्ष २०८०/०८१ को कार्यसम्पादन सम्झौताको तेस्रो त्रैमासिक कार्य प्रगति समीक्षा कार्यक्रम सोमबार नेपाल प्रहरी प्रधान कार्यालयमा सम्पन्न भएको छ ।
महानिरीक्षक बसन्त बहादुर कुँवरको उपस्थितिमा सो कार्यक्रम सम्पन्न भएको हो।
सो अवसरमा प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले नेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभागबाट प्रकाशित ‘अपराध अनुसन्धान दिग्दर्शन’ पुस्तकको विमोचनसमेत गर्नुभयो ।
कार्यक्रममा प्रहरी महानिरीक्षक कुँवरले नेपाल प्रहरीको आन्तरिक सुदृढिकरणलाई प्रमुख आधार विन्दु मान्दै तयार गरिएको नेपाल प्रहरी कार्ययोजनामा आधारित रहेर चालु आर्थिक वर्षमा गरिएको कार्यसम्पादन सम्झौता कार्यान्वयनको हालसम्मको अवस्था सन्तोषजनक रहेको बताउनुभयो ।
वार्षिक लक्ष्य हासिल गर्न आगामी महिनाहरूमा बाँकी सम्पूर्ण क्रियाकलापको कार्यान्वयनमा थप तीव्रता दिन आवश्यक रहेको उहाँले औंल्याउनु भयो।
कार्ययोजना अन्तर्गत तर्जुमा गरिएका योजना प्रतिवेदनहरूलाई प्रतिवेदनमा मात्र सीमित नराखी तत्काल कार्यान्वयनमा लैजानु पर्नेमा जोडदिँदै प्रहरी महानिरीक्षक कुँवरले भन्नुभयो, “वार्षिक लक्ष्य अनुसार मातहत कार्यालयहरूले कार्यसम्पादन गरेको छ वा छैन अथवा प्रगति हासिल गरेको छ/छैन सो सम्बन्धमा उपत्यका तथा प्रदेश प्रहरी कार्यालयहरूले नियमित अनुगमन, मूल्याङ्कन तथा मार्गनिर्देशनलाई निरन्तरता दिनुपर्छ । कार्यसम्पादन सम्झौता र वार्षिक कार्ययोजना दस्तावेजको रूपमा मात्र सीमित नहोस् भन्नेतर्फ हामी उत्तिकै संवेदनशील हुनुपर्ने देखिएको छ ।” कार्ययोजना तय गर्दा होस् वा कार्यसम्पादन करार गर्दा आम नागरिकलाई प्रदान गरिने सेवा प्रवाह, सांगठनिक सुदृढिकरण र आन्तरिक शुद्धिकरणलाई केन्द्रविन्दुमा राखेर गरिएको हुनाले वार्षिक लक्ष्य प्राप्ति र सम्पूर्ण विषयको तादम्यता मिलेको हुनुपर्ने उहाँले बताउनुभयो ।
प्रहरी महानिरीक्षक कुँवरले प्रहरी कर्मचारीहरूको आचरण व्यवहारमा आउने सुधारसँगै आम नागरिकमा प्रहरी प्रति प्रकट गरिने रूष्टता तथा गुनासोमा स्वत: कमी आउने तथ्यलाई समेत ध्यानमा राखी कार्यसम्पादन गर्न प्रदेश तथा जिल्ला तहका कमाण्डरहरूलाई निर्देशन समेत दिनुभयो ।
समीक्षा कार्यक्रममा नेपाल प्रहरी प्रधान कार्यालय अन्तर्गतका ५ वटै विभाग एवम् अन्वेषण योजना तथा विकास निर्देशनालय, राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंज, केन्द्रीय अनुसन्धान व्यूरो, नेपाल प्रहरी अस्पतालका प्रतिनिधिहरूले आ-आफ्नो प्रस्तुतीकरण गर्नुभएको थियो ।
प्रस्तुतीकरणमा कार्यसम्पादन सम्झौता अन्तर्गत पूर्ण सम्पन्न क्रियाकलापहरू र संक्षिप्त कार्य प्रगति विवरण लगायतका विषय समेटिएका थिए ।
यसैगरी, काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रतिनिधि र सात वटै प्रदेश प्रहरी कार्यालयका प्रमुखहरूले समेत आ-आफ्नो प्रस्तुतीकरण गर्नुभएको थियो । प्रस्तुतीकरणमा प्रभावकारी अपराध अनुसन्धान विवरण, शान्ति सुरक्षाको प्रभावकारी व्यवस्थापन र सुधार, नागरिक केन्द्रित प्रहरी सेवा प्रवाहमा सुदृढिकरणलगायत कार्यसम्पादन सम्झौताको प्रभावकारी कार्यान्वयनको लागि चालिने कदम र प्रयासहरूबारे सम्पन्न भएका कार्यहरू लगायतका विषयहरू समेटिएका थिए ।
कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षकहरू, वरिष्ठ प्रहरी अधिकृतहरू लगायतको उपस्थितिको साथै सात वटै प्रदेश प्रहरी कार्यालयका प्रमुखहरू, नेपाल प्रहरी प्रदेश कार्यालयका प्रमुखहरू, प्रदेश प्रहरी तालिम केन्द्रका प्रमुखहरू, नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालयहरूका प्रमुखहरूको भर्चुअल उपस्थिति रहेको थियो ।



