Zenith Migration Education
Saturday, March 15, 2025
Zenith Migration Education
Winner Circle Education & Visa Services

नेपाल स्पोर्टस फेलोसिपद्वारा वाफ च्याम्पियनसिप उपविजेता नेपाली टोलीलाई सम्मान

Zenith Migration Education

काठमाडौँ : नेपाल स्पोर्टस फेलोसिपले इस्टरको अवसरमा सुसमाचारिय कार्यक्रम आयोजना गरेको छ। उक्त अवसरमा वाफ महिला च्याम्पियनसिपको उपविजेता नेपाली राष्ट्रिय महिला फुटबल टोलीलाई सम्मानित गरिएको छ।

नेपाल स्र्पोटस फेलोसिपले हिजो आइतबार ख्रीष्ट पुनरुत्थान (इस्टर) को अवसरमा महिला सशक्तिकरण र प्रोत्साह गर्ने उद्देश्यअनुरूप वाफ महिला च्याम्पियनसिपको उपविजेता महिला फुटबल खेलाडीलाई सम्मानपत्र र ७५ हजार नगद राशीसहित सम्मान गरेको हो ।

कार्यक्रमलाई सम्बोधन गर्दै राखेपका संघसंस्था समन्वय शाखाका प्रमुख चन्द्र कुमार राईले वाफ महिला च्याम्पियनसिपको उपविजेता नेपाली राष्ट्रिय महिला फुटबल टोलीलाई बधाई तथा शुभकामना दिँदै देशमा सम्भावना हुँदा–हुँदै पनि खेलकुद पूर्वाधारको विकास हुन नसक्नु खेलाडी उत्पादनका लागि प्रशिक्षितहरुको खोजी गर्न नसक्नु र व्यवस्थापन हुन नसक्नुले खेलकुद क्षेत्रले सकेको जति सफलता हासिल गर्न नसकेको बताउनुभयो ।

खेलकुद विकासका लागि देश अगाडि बढ्नसके धेरै सम्भावना बोकेको हुँदा नेपालको खेलकुद क्षेत्र क्रमशः व्यावसायिकताउन्मुख भएको र यो क्षेत्र राष्ट्रको गौरवसँग जोडिएको हुँदा खेलकुद विकासका लागि राज्यले लगानी गर्नु पर्नेमा उहाँले जोड दिनुभयो।

कार्यक्रममा स्वागत मन्तव्य व्यक्त गर्दै नेपाल बक्सिङ संघका अन्तर्राष्ट्रिय निर्देशक तथा एनएसएफका संस्थापक श्याम अवालेले देश संघीय लोकतान्त्रिक गणतन्त्रसहितको धर्मनिरपेक्षता भएकोले व्यक्तिले आफनो धार्मिक आस्थाको अवलम्बन गर्न पाउने स्वतन्त्रता संविधानले समेत ग्यारेन्टी गरेको हुँदा पुनरुत्थान दिवसको अवसरमा आयोजित यस सुसमाचारिय सभाले राष्ट्रमा धार्मिक एकता, मेलमिलाप र शान्तिको सन्देश दिने कुरामा आफू विश्वस्त रहेको बताउनुभयो ।

कार्यक्रममा नेपाल व्याप्टिष्ट सेमिनारीका प्रिन्सिपल डा. जोन नारायण राईले नेपाली चर्चले नेपालको विकास सुशासन, शान्ति र समृद्धि र एकताको लागि खेलकुदको विकासलाई अगाडि बढाउँदै खेलको माध्यमद्वारा परमेश्वरको राज्यलाई विश्व सामु जित्नुपर्ने बताउनुभयो ।

कार्यक्रमका अध्यक्ष वेन्जी थापाले खेलकुदको क्षेत्रबाट चर्चको विकास सम्भव देखिदै गर्दा खेलकुद विकासका लागि सबै क्षेत्र, समुदायसँग हातेमालो गर्दै देशभर यसलाई अभियानका रुपमा लैजानु पर्नेमा जोड दिनुभयो ।

एनएसएफका संयोजक लबिस राईले चर्चभित्र खेलकुद क्षेत्रको विकास गर्न सके सामाजिक एकता र सम्वृद्धिको आधारशिला तयार पार्ने हुँदा नेपाली चर्चहरुले खेलकुद विकासका लागि सुसमाचारको रणनीति र दृष्टिकोण बनाएर अगाडि बढन आवश्यक रहेको उल्लेख गर्नुभयो ।

उहाँले नेपाली चर्च खेलकुदको माध्यमबाट विश्वमा जोडिने हुँदा र देशको गौरव बढाउने हुँदा अब नेपाली चर्चहरु पनि त्यसतर्फ गम्भीर बन्नु पर्ने बताउनुभयो।

कार्यक्रममा गायक राजेश राईले इस्टर सम्बन्धी गीत र हास्य कलाकार कुमार सुनामले आफनो प्रस्तुति दिनुभएको थियो।

स्पोर्टस फेलोसिपका अध्यक्ष वेन्जी थापाको अध्यक्षता भएको कार्यक्रममा राष्ट्रिय खेलकुद परिषद्का तालिम तथा प्रशिक्षण विभागका प्रचण्ड शर्मा र आर्थिक प्रशासन प्रमुख रिखीराम पोखरेल, एन्फाका पदाधिकारी, ओलम्पिक कमिटिका सदस्यहरु, ख्रीष्टियन संघसंस्थाका प्रतिनिधिहरु र खेलकुदका विभिन्न २९ विधाका राष्ट्रिय तथा अन्तरराष्ट्रिय प्रमुख तथा प्रतिनिधिहरु, पत्रकार र खेलप्रेमीको बाक्लो सहभागीता रहेको सो कार्यक्रमकोे कुशल संचालन एनएसएफका सचिव प्रकाश पाख्रीनले गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु
Hamro Grocery Lumbini Kohinoor polyclinic