सिड्नी— नेपाली अष्ट्रेलियन युवा संघ (NAYA) को आयोजनामा आइतवार प्यारामट्टा डोनर सेन्टरमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ। समुदायलाई रक्तदानप्रति जागरूक बनाउने उद्देश्यले आयोजित कार्यक्रममा २५जनाले रक्तदान गरेका छन्।

संस्थाका अध्यक्ष विपीन थापाले रक्तदान कार्यक्रममा उत्साहजनक सहभागिता रहेको बताउँदै भने, “समुदायको सहयोगले कार्यक्रम सफल बनाउन ठूलो भूमिका खेलेको छ। सहभागी सबैप्रति आभार व्यक्त गर्न चाहन्छु।”

संस्थाका महासचिव सुमन श्रेष्ठले यो रक्तदान कार्यक्रमलाई NAYA को सामाजिक उत्तरदायित्व अन्तर्गतको पहिलो ठूलो सुरुवातको रूपमा लिएको बताए। “उत्साहजनक सहभागिताले आगामी दिनमा निरन्तरता दिने प्रेरणा मिलेको छ,” उनले भने।

संस्थाले आफ्नो विधान अन्तिम तयारीमा रहेको जानकारी दिँदै मानसिक स्वास्थ्यसम्बन्धी जागरूकता कार्यक्रम सञ्चालन गर्ने र वार्षिक Signature Cruise Program को तयारी भइरहेको जनाएको छ।
कार्यक्रममा NAYA का पूर्व अध्यक्ष पनि सहभागी थिए। उनले रक्तदान गर्दै संस्थाको निरन्तर प्रयासको प्रशंसा गर्दै आगामी दिनमा अझ प्रभावकारी कार्यक्रमहरू सञ्चालन गर्नुपर्नेमा जोड दिए।

कार्यक्रम संयोजक विज्ञान ढकालका अनुसार यो रक्तदान कार्यक्रम समुदायलाई सेवा गर्ने लक्ष्यका साथ आयोजना गरिएको थियो। “रक्तदान कार्यक्रम सफल भएको छ, संघले आगामी दिनमा थप यस्ता कार्यक्रम सञ्चालन गर्नेछ,” उनले बताए।







